भ्रष्टाचार गर्दिन भन्दै राप्रपा हेटौंडाका उम्मेदवारले खाए कसम
मकवानपुर । भ्रष्टाचार गर्दिन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेटौंडा उपमहानगरपालिकाको विभिन्न पदमा मनोनयन दर्ता गराएका उम्मेदवारहरुले कसम खाएका छन् ।
विहीबार हेटौंडा ४ स्थित भुवनेश्वर मन्दिरमा हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर लगायत १९ वटै वडामा उम्मेदवारी दिएका उम्मेदवारहरुलाई भगवान साक्षी राखेर सामूहिक रुपमा सपथ खुवाइएको हो ।
मेयर पदका उम्मेदवार दीपक बहादुर सिंह, उपमेयरका उम्मेदवार इन्दिरा न्यौपाने लगायत १९ वटा वडाका उम्मेदवारलाई भगवान साक्षी राखेर ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’ भन्दै राप्रपाका वरिष्ठ नेता नवराज बिष्टले सपथ खुवाएका थिए ।
सिंहले आफू राप्रपाको मात्र उम्मेदवार नभएर हेटौंडाको साझा उम्मेदवार भएको बताए । उनले आफू हेटौंडाको विकासमा समर्पित भइ हेटौंडाको सुनौलो भविष्यका लागि निस्वार्थ गरेर देखाउने प्रतिबद्धता व्यत्त गरे ।
उपमेयरकी उम्मेदवार न्यौपानेले आफू जतिको सक्षम युवा नेतृत्व र दीपक सिंह जतिको पाको र अनुभवी निस्वार्थ उम्मेदवारबाट हेटौंडाको मुहार फेरिने दावी गरे ।
राप्रपा नगर समितिका अध्यक्ष अरुण लामाले आफू दिलो ज्यानका साथ नगरका अधिकांश वडाहरुलाई जिताउन लागि परेको र मेयरका उम्मेदवार दीपक सिंह सजिलै लोकप्रिय मतका साथ विजयी हुने दावी गरे ।
राप्रपा नगर समितिका उपाध्यक्ष शुक्रराज प्रजाले आफू नगरका सम्पूर्ण वडामा आफ्ना उम्मेदवार जिताउन कमान्डरको रुपमा लागि परेको बताए ।







