शैक्षिक क्षेत्रको विकासमा उल्लेख्य काम गर्छौं : एमाले उम्मेदवार
मकवानपुर । नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरका उम्मेदवार अनन्त पौडेल र उपमेयरकी उम्मेदवार सुमित्रा काफ्लेले आफुहरु निर्वाचित भएको खण्डमा हेटौंडाको शिक्षा क्षेत्रको विकासमा उल्लेख्य काम गर्ने बताएका छन्। विहिवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) ले आयोजना गरेको ‘विद्यार्थीसँग मेयर र उपमेयरका उम्मेदवार’ अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुको प्रश्नको जवाफ दिदै उनिहरुले हेटौंडामा प्राविधिन तर्फ उच्च शिक्षासहित विश्वविद्यालय निर्माण गर्ने काममा पहल गरिने बताए।
कार्यक्रममा मेयर पदका उम्मेदवार पौडेलले सामुदायिक विद्यालय घर अगाडि हुँदापनि सोही क्षेत्रमा निजि विद्यालयहरुका बसहरु प्रवेश गरि विद्यार्थी निजि तिर जाने काम भइरहेकोले अब अभिभावक आफैले सामुदायिक विद्यालयमा आफ्नो छोराछोरी पढाउन मन लाग्ने खालको विद्यालयको वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यत्त गरे ।
आफू २३ वर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा र हाल मकवानपुर बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्ष भइरहँदा धेरै अनुभव प्राप्त भएकाले सोही अनुसार शिक्षाको विकासमा जोड दिने उनको भनाइ छ। एमालेले हेटौंडा नगरको लागि तयार पारेको घोषणा पत्रमा समेत अभिभावक बिहिन, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई सिफारिसका आधारमा मात्र नभई प्रत्यक्ष पारिवारिक अवस्था बुझेर मात्र सम्बन्धित क्याम्पसमा निशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने उल्लेख गरिएको उनले बताए ।
उपमेयरकी उम्मेदवार काफ्लेले विद्यार्थीहरुलाई विद्यालयमा अध्ययनका क्रममा आइपर्ने हरेक समस्यालाई समाधान गर्ने गरि उपमहानगरपालिका अगाडि बढ्नेमा ढुक्क हुन आग्रह गरेका छन् । सुरुवातमै एकैपटक सबै विद्यार्थीलाई समेट्न नसकिएपनि टाढाबाट अध्ययन गर्न हेटौंडा आउने विद्यार्थीलाई सहज रुपमा छात्रावास लगायतको कार्यक्रमहरुको सुरुवात गर्ने, प्राबिधिक शिक्षा लिइरहेका विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गर्नका लागि आवश्यक समन्वय गर्ने, सबैको पहुँचमा शिक्षा पुर्याउने कार्यक्रम ल्याउने उनले बताए ।
हेटौंडा उपमहानगरपालिकाका वर्तमान मेयर हरिबहादुर महतले आफ्नो ५ वर्षको कार्यकालमा विरोधीहरुले विरोध गर्न नसक्ने गरि काम भएको दाबी गरेका छन् । उनले भने ‘हामीले यो ५ वर्षमा हेटौंडाको १९ वटै वडामा यति काम गरेका छौं कि नेकपा एमाले फेरि भोट माग्न जाँदा विरोधीहरुले विरोध गर्ने कुनै कुरा नै छैन ।’ उनले शिक्षाको क्षेत्रमा शिक्षालाई अपग्रेड गर्न शिक्षकहरुलाई अपग्रेड गराएको र अपग्रेड हुन नसकेका शिक्षकहरुलाई सम्मानजनक रुपमा अवकास प्रदान गर्ने कार्यक्रम ल्याएको, विद्यालयहरुमा नयाँ ज्ञान भएका शिक्षकहरुलाई अवसर प्रदान गरेको बताए ।
अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दाहाल, अनेरास्ववियु मकवानपुर इन्चार्ज किशन घिसिङ, अनेरास्ववियु केन्द्रिय सदस्य नितेश लामिछाने लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।







