जनताले महसुस गर्न सक्ने सरकारलाई अपबित्र बनाउने प्रयास भयो– पौडेल

अखबार हब
२०७९ बैशाख १४, बुधबार १९:२८

मकवानपुर । स्थानीय तहको निर्वाचनमा ५ दलको गठबन्धनले स्थानीय सरकारलाई अपबित्र बनाउने प्रयास भइरहेको नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाका मेयर उम्मेदवार अनन्त पौडेलले बताएका छन् ।

हेटौंडा–६ स्थित हात्तीलेट र हेटौंडा–११ स्थित सिमलटारमा भएको नेकपा एमालेको टोलभेलामा सहभागी हुने क्रममा स्थानीय नागरिकहरुसँग कुरा गर्दै उनले स्थानीय तहमा गठबन्धनले हित नगर्ने बताए ।

केन्द्रिय र प्रदेश सरकारमा गठबन्धन गरेका दलहरुले देशको विकास निर्माण र अर्थतन्त्रलाई ध्वस्त बनाएर अब जनताले प्रत्यक्ष महसुस गर्न सक्ने, छाम्न सक्ने, देख्न सक्ने स्थानीय सरकारलाई पनि गठबन्धन गरेर सक्काउन खोजेको उनको आरोप छ । जनताले आफ्नो दुःख पिडा सहजै सुनाउन सक्ने स्थानीय सरकारमा गठबन्धन गर्दै ५ दलका ५ जना जनप्रतिनिधि हुँदै आए भने जनताको दुःख पीडा सुन्नुको सट्टा यिनीहरू आफै एकआपसमा जुधेर बस्ने समेत पौडेलले दाबी गरे ।

एउटै सिद्धान्त भएको पार्टीका जनप्रतिनिधिबिच त कहिलेकाँही कुरा मिल्दैन । फरक फरक सिद्धान्तका ५ दलका ५ ओटा चुच्चो एकैठाउँमा जोडिने हो भने, स्थानीय तह पनि ध्वस्त हुन्छ । उनले भने, ‘बास्तवमा गठबन्धन गरेर यिनिहरु विकास गर्न आएका हैनन् । यिनिहरुसँग भिजन छैन, आफ्नो बेग्लै घोषणा पत्र छैन, प्रतिबद्धता छैन । यिनिहरुको ध्याउन्न मात्र एमाले हराउने भन्ने छ । त्यसैले सबै जनता मिलेर यस्ता गठबन्धनलाई पराजित गर्न लाग्नुपर्छ ।’

अब हेटौंडामा गर्न बाँकी रहेको भौतिक बिकाससँगै सामाजिक, आर्थिक बिकासलाई प्राथमिकतामा राखेर उपमहानगरपालिकालाई समृद्ध बनाउने परिकल्पना गरिएको पौडेलको भनाई छ । उनले गरीब, अभिभावक बिहिन विद्यार्थीहरुलाई निशुल्क उच्च शिक्षा प्रदान गर्न सिफारिसको आधारमा नभई उसको बास्तबिक स्वस्थाको प्रत्यक्ष अवलोकन गर्दै वास्तविक पाउन पर्ने विद्यार्थीलाई उपमहानगरपालिकाबाट सम्बन्धित क्याम्पससँग समन्वय गरि अध्ययन निशुल्क गर्ने ब्यवस्था गर्ने साथै स्थानीय सामुदायिक विद्यालयहरुमा पनि गुणस्तरीय शैक्षिक अवस्था कायम गरि कमजोर आर्थिक अवस्था भएका परिवारका बालबालिकाले पनि राम्रो शिक्षा पाउने नगर बनाउने योजना रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*