हेटौँडाको मयेरमा एमाले भर्सेस पूर्व एमाले
मकवानपुर । बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडाको मेयरमा एमालेविरुद्ध पूर्व एमाले भिड्ने भएका छन् । एमालेबाट मेयरमा आनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् । पौडेलको प्रस्तावकमा वर्तमान मेयर हरिबहादुर महत र समर्थकमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल छन् । उपमेयर काफ्लेको प्रस्तावकमा आरती पाठक तथा समर्थकमा सिता विष्ट रहेका छन् ।
एमालेले मेयर र उपमेयरमा नयाँ अनुहारलाई गठबन्धनविरुद्ध खडा गरेको हो । मेयरका प्रत्यासी पौडेल संविधानसभा सदस्य भए पनि स्थानीय तहमा नयाँ अनुहार हुन् । उनी एमाले मकवानपुरका पुराना र वैचारिक नेताका रूपमा परिचित छन् । उपमेयरकी उम्मेदवार काफ्ले युवा नेत्री हुन् । २०६० सालबाट राजनीतिका लागेकी काफ्ले हाल नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष छिन् ।
गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीकी मिनाकुमारी लामा र कांग्रेसबाट उपमेयरमा राजेश बानियाँले उम्मेदवारी दिए । गत निर्वाचनमा एमालेबाट उपमेयर जितेकी लामा एकीकृत समाजवादीबाट मेयर लड्ने भएसँगै पूर्व एमाले र एमालेबीच टक्करको प्रतिस्पर्धा हुनेछ । उपमेयर बानियाँ गत निर्वाचनमा हेटौँडा–५ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । ५ नम्बर वडामा एमालेबाट ४ जना सदस्य विजयी हुँदा बानियाँ कांग्रेसबाट निर्वाचित भएका थिए ।
कांग्रेस हेटौँडाको दोस्रो ठूलो दल हो । गठबन्धनबाट मेयर नपाएको भन्दै कांग्रेस मकवानपुरको बहुमत पदाधिकारी र नगर समिति असन्तुष्ट छ । हेटौँडामा एमाले र राप्रपा नेपालको भन्दा गठबन्धनको मत बढी रहेको आकलन छ ।
यसैगरी मंगलबार हेटौँडाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दीपक सिंहले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार पाँच स्वतन्त्रसहित १७ जनाले मेयरमा उम्मेदवारी दर्ता गराइसकेका थिए । स्वतन्त्रबाट कबिराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य र देवराज पौडेलले उम्मेदवारी दर्ता गराएका थिए ।
मेयरमा नेपालका लागि नेपाली पार्टी मुकुन्द प्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टी माले केशव घर्ती, जनता समाजवादी पार्टी नेपाल दिपा लामा, राप्रपा दिपकबहादुर सिंहले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय अनुसार मेयरमा नेपाल मजदुर किसान पार्टी रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टी अयोध्याकुमार भट्टाराई, सचेत नेपाली पार्टी रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादी, रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टी सिर्जना बर्तौला उम्मेदवारी परेको छ ।







