आहा ! हेटौंडा भन्ने बनाउँछौं : अनन्त पौडेल

अखबार हब
२०७९ बैशाख १३, मंगलवार १५:३६

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका मेयरका पदका उम्मेदवार अनन्त पौडेलले प्रदेशको राजधानी हेटौंडालाई सबैले आहा ! भन्ने गरी विकास गर्ने बताएका छन् ।

नेकपा एमाले ७ नम्बर वडा कमिटिले आदर्श टोलमा स्थापना गरेको चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै मेयर पदका उम्मेदवार पौडेलले बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा हेटौंडालाई प्रदेशको राजधानी बनाउन सफल भएको दाबी गर्दै फेरिपनि एमालेकै नेतृत्वमा हेटौडाको समग्र क्षेत्रको विकास गरी जिल्लाबासीले नै आहा ! हेटौंडा भन्ने बनाउने बताए ।

प्रदेशको राजधानी भैकन अझै हेटौंडामा राजधानीको लागि आवश्यक पूर्वाधार, फराकिलो सडक, राजमार्गमा आकाशेपुल, ट्राफिक लाईटको व्यवस्था, खेलकुद, खुल्ला स्थान लगाएतको क्षेत्रमा काम गर्न बाँकी भएकोले बैशाख ३० गतेको निर्वाचनमा एमालेका सबै उम्मेदवारलाई बिजयी गराउन उनले मतदाताहरुमा आग्रह गरे ।

एमालेले लिएको सुख नेपाली समृद्ध नेपालको नारालाई लक्ष्य बनाई अघि बढेको भन्दै उनले हेटौंडाको समग्र क्षेत्रलाई विकास गरी साँच्चै नै हेटौंडालाई प्रदेशको राजधानी बनाउने प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्लेले हेटौंडा उपमहानगरपालिका लगाएत सबै वडाहरुमा एमालेको आफ्नो बर्चश्व कायम राख्न जरुरी रहेको बताए । अघिल्लो स्थानीय तहको निर्वाचनपछि एमालेले जितेको सबै वडाहरुमा अन्य पार्टीको तुलनामा अत्याधिक विकासका काम भएको दावी गर्दै उनले विकास र एमाले एकअर्कामा पुरक रहेको समेत बताए।

यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ वडा अध्यक्षपदका उम्मेद्वार राजन थापाले आफ्नो नेतृत्वमा गएको पाँच वर्षमा वडामा जनताले महशुस गर्नेगरी विकासका काम भएको बताए । यस्तै अघिल्लो कार्यकालमा कर्राखोलामा पक्की पुल निर्माणको लागि आवश्यक स्थान र बजेट पहिचान भएकोले आगामी कार्यकालमा पक्की पुल निर्माण गरिने भन्दै सबै मतदाताहरुमा सातवटै सुर्यचिन्हमा मतदान गर्न अपिलसमेत गरे ।

यस्तै कार्यक्रममा नेपाली काँग्रेस, राप्रपा लगाएतका विभिन्न पार्टी परित्याग गरि राजेन्द्र सापकोटा, दिपा चौलागाई, सीता सापकोटा, एकनाथ सापकोटा, दिपा चौलागाई, सोमप्रसाद सापकोटा, सीता उप्रेती, जयनारायण दाहाल, रामजी उप्रेती, विक्रम लामा, मनिष उप्रेती सहित २५ जना एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले ७ नम्बर वडा कमिटिका अध्यक्ष कुल प्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य तथा पार्टी प्रचार विभाग प्रमुख ध्रुव चौलागाई, जिल्ला सदस्य सुबोध रिमाल, वडा सदस्यका उम्मेदवारहरु देवराज रिमाल, नरबहादुर भ्लोन, तुलसा अधिकारी, सपना बि.क लगाएत पार्टीका नेता कार्यकर्ता लगाएत वडाबासीको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*