बागमती प्रदेश प्रमुख शर्माद्वारा लोकतन्त्र दिवसमा शुभकामना सन्देश

अखबार हब
२०७९ बैशाख ११, आईतवार ०९:१५

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइदै गरिएको लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन ।

प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै लोकतन्त्र प्राप्तिका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरेका छन् ।

प्रमुख शर्माले भनेका छन्,‘आफ्नो देश र संसारभरी जहाँ–जहाँ छरिएर रहनुभएपनि राष्ट्रियताको एकै सूत्रमा बाँधिएर रहनुभएका सम्पूर्ण नेपाली समुदायप्रति यस अवसरमा सुख,शान्ति र समृद्दिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

प्रमुख शर्माले २०६२/०६३ सालको वसन्त विद्रोहबाट मुलुकमा लोकतन्त्र स्थापना भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रुपमा यो दिवस मनाउँने गरिएको उल्लेख गरेका छन् । नेपालीहरुले विभिन्न कालखण्डमा गरिएको संघर्षबाटै अधिकार प्राप्त गरेको जनाउँदै शुभकामना सन्देशमा भनेका छन्,‘नेपालीहरुले विभिन्न कालखण्डमा गर्दै आएका संघर्ष तथा बलिदानको उपलब्धि स्वरुप प्राप्त लोकतान्त्रिक व्यवस्थाले उपलब्ध गराएका अधिकारहरुको उपभोग गर्दा हामीले गौरवबोध गर्न सक्नुपर्दछ ।’

सन्देशमा प्रमुख शर्माले राष्ट्रले अवलम्बन गरेको संघीयता,गणतन्त्र,धर्मनिरपेक्षता र समानुपातिक समावेशितासहितको समाजवाद उन्मुख संविधानद्धारा प्रदत्त अधिकारले स्वतन्त्र नागरिक हुने अवसर प्राप्त गरेको उल्लेख गर्दै शोषण, दमन र उत्पीडनविरुद्धको बलिदानपूर्ण संघर्षको जगमा स्थापित लोकतन्त्रको अर्थपूर्ण उपयोगबाट भविष्य निर्माण गर्नु हामी सबैको कर्तव्य रहेको भनेका छन् ।

सन्देशमा उनले भनेका छन्, ‘त्यही वसन्त विद्रोहको राप–तापमा स्थापित लोकतन्त्रले राजनीतिक क्रान्ति सम्पन्न गरिसकेको छ । यस परिप्रेक्ष्यमा सामाजिक रुपान्तरण र आर्थिक क्रान्तिलाई सम्पन्न गर्न हामी सबैले साझा दायित्वको रुपमा ग्रहण गर्नुपर्दछ ।’

शुभकामना सन्देशमा प्रमुख शर्माले आज यो दिवस मनाइँरहँदा देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्दि हासिल गर्नका लागि हामी सबैलाई यो दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*