गठबन्धन भएसँगै पालिकादेखि वडा–वडामा बागी उम्मेदवार खडा गर्दै काँग्रेस मनहरी
मकवानपुर । मनहरी गाउँपालिकाको अध्यक्ष पदका लागि गठबन्धनका तर्फबाट माओवादी केन्द्रको उम्मेदवारलाई उठाउने निर्णय भएसँगै नेपाली काँग्रेस मनहरी वडा नं. १ मा बागी उम्मेदवार खडा गरिएको छ ।
शनिबार भएको काँग्रेस मनहरीको बैठकले वडा नं. १ मा पनि बागी उम्मेदवार खडा गर्ने घोषणा गरेको हो । पाँच दलीय गठबन्धनले गरेको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै १ सय ६ जना क्रियाशिल सदस्यहरु भएको काँग्रेस मनहरी १ नं. वडा कमिटीले सो निर्णय गरिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार ६ जना अध्यक्ष आकांक्षी रहेको मनहरी १ नं. वडामा माओवादीलाई पालिका अध्यक्ष दिन्छ भने नेपाली काँग्रेसबाट टिकट पाएपनि कुनै उम्मेदवारले वडामा नलड्ने र स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्नेछ ।
गठबन्धनको सामान्य सिद्धान्त अनुरुप नै मनहरी गाउँपालिका काँग्रेसको भागमा पाउनुपर्ने भएतापनि आफूहरुले नपाए गठबन्धन नहुने र जबर्जस्ती निर्णय पेल्न खोजेको खण्डमा पालिकाकाभरि नै बागी उम्मेदवार खडा गर्ने चेतावनीसमेत दिँदै आएका छन् ।







