हेटौंडाकी २४ वर्षीया युवतीलाई छुरा प्रहार गर्ने यादवद्वारा प्रहरीसमक्ष आत्मसमर्पण
मकवानपुर । हेटौंडामा मानव अधिकारको क्षेत्रमा काम गर्दै आएकी २४ वर्षीया युवतीलाई छुरा प्रहार गर्ने सिर्जन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हेटौंडा–८, कमानेस्थित स्मृति टोलमा गत ११ चैतमा घरबाट आउँदै गरेको अवस्थामा यादवले २४ वर्षीया अनिशा राईलाई छुरा प्रहार गरेका थिए ।
अनिशालाई छुरा प्रहार गरी फरार यादव आफैँ जिल्ला प्रहरी कार्यालय मकवानपुरको सम्पर्कमा आएका छन् । प्रहरीले खोजी गरिरहेको अवस्थामै उनी प्रहरीको सम्पर्कमा आएको जिप्रका मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
हेटौंडा–२ का २९ वर्षीय यादवको छुरा प्रहारबाट युवतीको घाँटीको पछाडि भागमा चोट लागेको थियो । उनको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारपश्चात केही दिनअघि डिस्चार्ज गरिएको थियो । उनी उपचारपछि हेटौंडास्थित घरमै आएर बसेकी छन् ।
मकवानपुर बहुमुखी क्याम्पस एमएड तेस्रो सेमेस्टरमा अध्ययनरत अनिशा मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जाल सदस्य, सानाहातहरू नेपालका सदस्य, सुरक्षित वैदेशिक रोजगार परामर्श दाताको रूपमा कार्यरत रहेकी थिइन् ।
अनिशाको परिवारले भने यादवले हत्या गर्ने योजनाअनुसार शरीरको विभिन्न भागमा छुरा प्रहार गरेको आरोप लगाउँदै आएको छ । अभियुक्त यादवलाई हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट प्रहरीले बुधबार पाँच दिनको म्याद थप गरेको डीएसपी कार्कीले जानकारी दिए । उनका अनुसार यादवविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।







