मेयर माग्दै कांग्रेस पार्टी कार्यालयमा लगाइएको ताला दुई घन्टापछि खोलियो

अखबार हब
२०७९ बैशाख ६, मंगलवार १५:१८

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर पद कांग्रेसले पाउनु पर्ने माग राख्दै हेटौंडा–२, स्थित कांग्रेस पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको छ ।

केन्द्रीय गठबन्धन बैठकमा उपमहानगरहरुको प्रस्तावित भागबण्डामा हेटौंडाको मेयर नेकपा (एकीकृत समाजवादी)को भागमा परेपछि असन्तुष्ट कांग्रेस कार्यकर्ताहरुले आफ्नै पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए । नेपाल तरुण दल उपमहानगर सभापति सुनिल गिरी नेतृत्वको टोलीले ताला लगाएको हो ।

गिरीले गठबन्धनमा हेटौंडाको मेयर नेपाली कांग्रेसले पाउनु पर्ने माग गरेका छन् । कार्यकर्ताहरु पार्टी कार्यालयमा ताला लगाएपछि नाराबाजीमा उत्रिएका थिए । कांग्रेस नगर समितिले सोमबार मात्रै मेयरका लागि आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम क्षेत्रीय समिति र जिल्ला समितिमा सिफारिस गर्ने निर्णय गरिसकेको छ । पार्टी कार्यालयमा लगाएको ताला करिब २ घण्टापछि जिल्ला सभापति बुद्ध लामा र सहसचिव निशान बजगाईंले खोलेका थिए । सभापति लामाले पार्टी कार्यालयमा ताला लगाउनेलाई हदैसम्मको कारबाही गर्ने चेतावनी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*