९ गतेदेखि खटिँदै म्यादी प्रहरी

अखबार हब
२०७९ बैशाख ६, मंगलवार १०:३६

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्ना भएका १ लाख म्यादी प्रहरी वैशाख ९ गतेदेखि ड्युटीमा खटिने भएका छन्। देशभरका सबै जिल्लामा सञ्चालन भएको ज्ञान र सीप प्रदान गर्ने तालिममा उनीहरू सहभागी भइरहेका छन्। तालिम गत चैत २८ गतेदेखि यही वैशाख ८ गतेसम्मका लागि सञ्चालन भइरहेको छ।

नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीका अनुसार तालिमपछि म्यादी प्रहरीलाई निर्वाचनसम्बन्धी कार्यमा परिचालन गरिनेछ। ४० दिनका लागि नियुक्ति भएका म्यादी प्रहरीले पारिश्रमिकका रूपमा ४४ हजार रकम प्राप्त गर्नेछन्। केसीका अनुसार उनीहरूलाई सामान्य खालको शारीरिक तालिम दिइएको छ। सेलेक्सनमा परेका तर तालिमका क्रममा सामान्य कसरत र दौडिन पनि नसक्नेहरू आफ्नै खुसीले छाड्न सक्छन्।

तालिममा बिहान कुद्ने, लठ्ठी कसरी बोक्ने ?, कसरी लाइन मिलाउने ? पोसाक कसरी लगाउने ? मतदान केन्द्र बनाउने, सुरक्षा दिने, मतदातालाई सहयोग गर्ने, अशक्त, वृद्धवृद्धालाई सहयोग गर्नेलगायतका सीप सिकाइनेछ। तालिमपछि उनीहरू हरेक दिन ८ घण्टा ड्युटीमा खटिनुपर्नेछ। प्रवक्ता केसी भन्छन्, ‘रातिको समयमा भने म्यादी प्रहरीले काम गर्नुपर्दैन।’

यसमा तपाइको मत

Your email address will not be published.


*