हेटौंडाको मेयरमा काँग्रेसबाट तीन जनाको नाम सिफारिस
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवारहरू सिफारिस गरेको छ । हेटौंडा उपमहानगरपालिका समितिको बैठकले हेटौंडाको मेयरमा एक महिलासहित दुई पुरुषलाई उम्मेदवारको रुपमा सिफारिस गरेको हो ।
बैठकले हेटौंडाको मेयरमा आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो । पराजुली नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका समितिका निवर्तमान सभापति हुन् भने इटेनी वर्तमान सभापति हुन् ।
नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय महामन्त्री रहेका प्रभात दाहालको नाम भने, काँग्रेसबाट जिल्लामा सिफारिस भएको छैन । बलिया दाबेदारका रुपमा प्रस्तुत भएका दाहालको नाम जिल्लामा सिफारिस नभएपनि दाहालले आफ्नो नाम जिल्लाबाट प्रदेशमा सिफारिस हुने दाबी गरेका छन् ।
त्यसैगरी उपमेयर पदमा पनि काँग्रेसले ३ जनाको नाम सिफारिस गरेको छ । उपमेयर पदका लागि काँग्रेसले अमृता थापा, इन्दिरा न्यौपाने र तारा राई कार्कीको नाम सिफारिस गरिएको हो ।
बैठकले मेयर र उपमेयर पदका उम्मेदवारको नाम काँग्रेस मकवानपुर क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिलाई सिफारिस गरिएको उपमहानगरपालिका सभापति इटेनीले बताए ।







