हेटौंडामा जोगीको भेषमा दिनेश बाबाको ठगी धन्दा
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–२ का दिनेश केसी उर्फ ‘दिनेश बाबा’ले मिटर ब्याजको धन्दामा फसेका करिब दर्जन बढी पीडित एकजुट भएका छन् ।
जोगीको भेषमा आफूलाई धार्मिक सन्त बताउँदै हिँड्ने केसीले भारतीय मूलका नागरिक र नेपाली गरिब तथा विपन्नलाई ऋण दिँदै वास्तविक रकमभन्दा बढीको तमसुक बनाएर अदालतमा मुद्दा दायर गर्ने गरेको प्रमाण फेला परेको छ । केसीले ठेलागाडामा तरकारी र फलफूल बेच्नेदेखि टेलरिङ व्यवसाय गरिरहेका नेपालीलाई मिटर ब्याजको धन्दामा फसाएको आरोप लागेको छ ।
श्रृंखला – १
टेलरिङ व्यवसाय गर्ने हेटौँडा–५ का अनुज परियारले २०७४ सालमा जग्गा पास गर्न भन्दै केसीसँग ५ लाख रुपैयाँ ऋण लिएका थिए । तर, केसीले भने १० लाखको तमसुक बनाएर पसलमै कागजमा हस्ताक्षर र औँठा छाप लगाएको परियारले बताए । केसीले लेखापढीबाट पहिल्यै कागज तयार पारेर पसलमै ल्याएर उनीहरूको कागज गराएका हुन् । पक्ष र विपक्षलाई लेखापढीको रोहबरमै कागज गराउनु पर्नेमा केसीले पहिल्यै तमसुकको ड्राफ्ट बनाएर पसलमै लगेर कागज गराएको परियारले बताएका छन् ।
परियारले एक लाखको दरले दैनिक ४ सय अर्थात् २ हजार रुपैयाँ केसीलाई बुझाउने गरेको बताएका छन् । ऋण लिएको ८ दिनपछि परियारले ४ नम्बर वडाको हेटौँडा क्याम्पस अगाडि एउटा पार्लरमा केसीलाई रकम बुझाएका थिए । ‘मैले सबै पैसा बुझाएपछि, अनुज बाबु कागज बोकेर हिँडेको छैन, तपाईंलाई भोलि बिहान ल्याएर कागज दिन्छु भन्नुभयो,’ परियारले भने, ‘सधैँ कारोबार गर्ने भएपछि भोलि ल्याएर कागज दिन्छु भन्दा विश्वास गर्नै प¥यो ।’
भोलिपल्ट केसीले परियारलाई भेटेर कागज राखेको ठाउँमा नभेटेको भन्दै केही दिनपछि दिने प्रतिबद्धता जनाएको पाइएको छ । ‘त्यतिकैमा २०७५ साल लाग्यो । फेरि उहाँ आएर अब वडाबाट मात्रै गरेको कागजको मान्यता हुन्छ, तपाईंको पसलमा गरेको कागज अब मान्यता हुँदैन, हराए पनि राम्रो भयो भनेर भन्नुभयो,’ परियारले भने । परियारकै नजिकका अन्य पसलेहरूले पनि केसीसँग ५० हजारदेखि १ लाखसम्म गरेर ८ लाख रुपैयाँ ऋण लिएको उनले बताए ।
केसीले लकडाउन लागेपछि उक्त पैसा परियारलाई मिलाइदेउ भनेपछि उनीहरूले लकडाउनको समयमा पैसा फिर्ता गर्न नसकेको उनको भनाइ छ । ‘मैले पैसा फिर्ता दिन समन्वय मात्रै गरेको थिएँ । लकडाउनले पसल बन्द भएपछि उहाँहरूले पैसा दिन सक्नुभएन,’ उनी भन्छन्, ‘केसीले पसलमा ताला लगाइदिन्छु भनेर धम्की दिनु हुन्थ्यो ।’
परियारले हेटौँडामै घर बनाउँदै थिए । त्यतिकैमा एक दिन केसी पसलमा आएर घरको नक्सा बनाउन आफूले कन्सल्टेन्सी चिनेको भन्दै परियारलाई सँगै लिएर गए । केसीले घरको नक्सा र लालपूर्जा खल्तीमा हालेर भागेको परियारले आरोप लगाए । ‘भोलिपल्ट त्यसो किन गर्नुभयो भनेर भन्दा, नक्सा बनाउन अझै सस्तो पर्छ कि भनेर लगेको तिमीलाई त्यस्तो लाग्छ भने फिर्ता ल्याइदिन्छु भन्नुभयो । पछि त अदालतमा मुद्दा हालेर मेरो जग्गा नै रोक्का गरिसकेछन्,’ परियारले भने ।
श्रृंखला–२
हेटौँडा–१ की सन्तोषी थिङले रोजगारी गर्न जापान जान केसीसँग घर दृष्टिबन्दक गरेर २० लाख रुपैयाँ ऋण लिएकी थिइन् । ३० जेठ २०७४ मा केसीसँग ऋण लिएकी उनी हाल जिल्ला अदालतमा तारेख धाउँदै आएकी छन् । केसीले २० लाख ऋण दिएर तमसुक ३० लाखको गराएको थिङले जानकारी दिइन् । ‘मैले यसो किन गर्नुभयो भन्दा केही हुँदैन नानी, तिमीले पैसा २० लाख नै तिर्नु कागज चाहिँ मैले ३० लाख रुपैयाँको गरेको हो भन्नुभयो । बाबाजस्तो मान्छे तलमाथि गर्नु हुँदैन होला भनेर मैले मानेको हुँ । अहिले मलाई फसाउनु भयो,’ उनले भनिन् ।

पीडितहरू ।
कृष्णहरि कँडेलको लेखापढी फर्ममा उनलाई साक्षी राखेर कानुनी रूपमा सम्झौता गर्दै उनले केसीसँग ऋण लिएको बताइन् । उनले ऋणको साँवा नबुझाएपछि ब्याज भने दैनिक बुझाएको बताइन् । ‘मलाई उहाँले तीन वर्षजति भयो मुद्दा हाल्नु भएको । २० लाख रुपैयाँ नै दिन्छुभन्दा अब त्यसो भनेर हुँदैन, मलाई ३० लाख नै चाहिन्छ, कानुनी रूपमा तिमीहरूभन्दा माथि छु भन्नुहुन्छ । म मर्नु न बाँच्नुको अवस्थामा छु, तनावमा आत्महत्या गर्ने अवस्थामा पुगिसकेँ । यही कारणले मेरो श्रीमानसँग पनि झगडा परेको छ,’ थिङले भनिन् ।
आफूमाथि केसीले यौन दुर्व्यवहार गरेको आरोपसमेत लगाएकी छन् । ‘मेरो पसलमै आएर घुम्न जाउँ भनेर नराम्रो कुरा गर्नुहुन्थ्यो,’ थिङले भनिन् । आफूले ब्याजसहित ऋण चुक्ता गर्छुभन्दा पनि केसीले पैसा लिन नमानेको थिङको भनाइ छ । केसीले थिङको घर रोक्का गरेका छन् । आफूलाई घर बिक्री गरेर ऋण तिर्न पनि नदिएको उनले गुनासो गरिन् । ऋण लिएको तमसुक गराउने लेखापढी व्यवसायी कँडेलले थिङसँगको कुराकानीमा २० लाख मात्रै ऋण लिएको भए पनि ३० लाखको कागज गराएको बताएका छन् । अडियो रेकर्डलाई अदालतले प्रमाण नमान्दा आफू कानुनी रूपमा तल परेको थिङको गुनासो छ ।
श्रृंखला–३
भारत घर भएका ४९ वर्षीय ललन प्रसाद साहलाई पनि केसीले मिटर ब्याजमा पैसा दिएर दुःख दिएको पाइएको छ । हेटौँडा–१ चाइनाक्वार्टरमा डेरा गरी बस्ने साह ३० वर्षदेखि ठेलागाडामा फलफूल व्यापार गर्दै आएका छन् । सडकमा बसेर फलफूल बिक्री गर्दै जिविकोपार्जन गर्दै आएका साहले केसीसँग २०७४ मा ८० हजार रुपैयाँ ऋण लिएका थिए । केसीले उनीसँग १ लाख बराबरको तमसुक बनाएको साहले बताए । बुवा बिरामी हुँदा ऋण लिएको ८० हजार रुपैयाँका कारण उनले पछिल्लो समय अदालतको चक्कर काट्नु परिरहेको छ ।
उनले सुरुवातमा दैनिक ४ सय रुपैयाँका दरले ब्याज बुझाउँदै आएका थिए । साहले दैनिक रूपमा पैसा तिर्दा एउटा डायरीमा हिसाब नियमित लेख्ने गरेका थिए । दैनिक ४ सय गरेर ३० हजार बढी पैसा बुझाएपछि केसीले डायरी नै लगेको उनको आरोप छ । केही समयपछि पुनः ५ सयका दरले ब्याज बुझाउँदै आएको साहले दुई चरणमा गरेर एक लाख चुक्ता गरिसकेको दाबी गरे । तर, केसीले उनलाई ऋण फिर्ता नगरेको भन्दै जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
केसीले ऋण लिँदा गरेको तमसुक च्यातेर फालेको भन्दै कुनै समस्या नपर्ने बताएको साह बताउँछन् । साहको पक्षमा निःशुल्क मुद्दा हरेका अधिवक्ता मदन दाहालका अनुसार अदालतले केसीको पक्षमा फैसला गर्दै ६० हजार दुई सय रुपैयाँ तिर्न आदेश दिएको छ । पीडित साहले उच्च अदालत पाटन हेटौँडा इजलासमा पुनरावेदन गरेका छन् । अधिवक्ता दाहालले व्यवहारिक कुरा हेर्दा पैसा चुक्ता गरिसकेको भए पनि कानुनी रूपमा केसी माथि भएको बताए ।
अधिवक्ता दाहालले साहले केसीलाई दैनिक पैसा बुझाउँदा लेखेको डायरीको विवरण र उनको हस्ताक्षरले केही राहत भएको बताए । ‘उनको डायरी हेर्दा केसीले दिनहुँ पैसा लगेको देखिन्छ । तर, यो मात्रै प्रमाण थिएन । तमसुकमा पैसा तिरेको देखिँदैन । त्यही कागज ल्याएर केसीले मुद्दा लडेका हुन्,’ दाहालले भने ।
हेटौँडा–२ मा आलिसान घरमा बस्दै आएका केसी जोगीको भेषमै हिँड्छन् । बाहिर हेर्दा धार्मिक आस्थाले वतप्रोत केसीको बाहिरी रूप कमैलाई थाहा छ । केसीको निशानामा गरिब, विपन्न, पसल सञ्चालन गरेर बसेका र भारतीय मूलका नागरिक धेरै छन् । उनले धरजग्गा दृष्टिबन्धक गरेर ऋण दिने गरेको देखिन्छ । केही समयपछि उनले मुद्दामामिलामार्फत घरजग्गा नै हडप्ने गरेको पीडित परियारले जानकारी दिए । उनी स्वयम् साक्षी बसेको एउटा घटनामा हेटौँडा–११ थानाभ¥याङको एउटा जग्गा केसीले हडपेका थिए ।
एक लाख रुपैयाँ ऋण दिएर उनले ब्याजसहितको रकम जोडेर घडेरी नै पचाएको परियारले बताए । केसीले परियारलाई साक्षी राखेका थिए । परियारले केसीबाट हेटौँडामा ३० जनाभन्दा बढी व्यक्ति पीडित भएको आरोप लगाएका छन् ।
म धार्मिक मान्छे हुँ, पैसा नतिर्नेले झुटो आरोप लगाएः केसी
आरोपित केसीले आफू धार्मिक मान्छे भएकाले यस्तो काम नगर्ने बताए । केसीले पैसा नतिर्नेहरूले आफूमाथि झुटो आरोप लगाएको बताएका छन् । मिटर ब्याजमा पैसा लगाउने नगरेको उनको दाबी छ ।

ललनले तिरेको पैसाको टिपोट ।
‘यो झुटो हो, मैले मिटर ब्याजमा पैसा लगाउने गरेको छैन । मलाई फसाउन झुटो आरोप लगाइएको हो,’ केसीले भने । उनले ऋणको ब्याजसहितको किस्ता दैनिक रूपमा नउठाएको बताए । उनले ८० हजार रुपैयाँ ऋण दिएकोबारे आफूलाई थाहा पनि नभएको बताए । तर, पीडित साहको डायरीमा दैनिक रूपमा ब्याजसहित किस्ता रकम बुझेको डायरीमा केसीको हस्ताक्षर छ ।
‘कसलाई ८० हजार दिएँ थाहा छैन । म पैसा दैनिक उठाउँदिनँ, मासिक मात्रै कलेक्सन गर्छु,’ केसीले भने । आफू आरोप लगाए त्यस्तो गलत मान्छे नभएको केसीको जिकिर छ । ‘म धार्मिक मान्छे हो, म कस्तो मान्छे भनेर छरछिमेकमा आएर सोध्नुस् । पैसा लिएर नतिर्नेहरूले ममाथि झुटो आरोप लगाएका हुन् । मैले अदालतमा मुद्दा लड्दै छु । म, कानुनअनुसार अघि बढेको छु । गलत गरेको छैन,’ केसीले भने, ‘यसबारे तपाईंलाई थप बुझ्न परे मलाई भेट्न आउनुस्, बरु तपाईंको घर कहाँ हो भन्नुस, म घरमै आउँछु ।’ साभार : शिलापत्र डटकम







