फेसबुके अभियन्ता बोकेर राजा फर्काउने लिङ्देनको मिसन

अखबार हब
२०७९ बैशाख २, शुक्रबार २१:४९

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको चर्चा यतिवेला कम्ताको छैन । उनी अध्यक्ष बन्ने बित्तिकै त झन् ६ महिनाभित्र राजसंस्था पुनःस्थापनामा सहमति जुटाउँछु भनेर घोषणा गर्नसमेत भ्याईहाले । राजसंस्था पुनःस्थापना त परको कुरा लिङदेनलाई चुनावमा अस्तित्व जोगाउनसमेत थाल खाउँ न भात खाउँको स्थिति छ यतिबेला ।

राप्रपाजस्तो पुरानो पार्टीका नयाँ अध्यक्ष राजेन्द्र लिङ्देन यतिबेला सर्वत्र चर्चामा छन् । ओली, देउवा र प्रचण्डमाथि लिङ्देनले गर्ने कडा प्रहारकै कारण उनको पछि लाग्नेको ताँती पनि उत्तिकै छ । अध्यक्ष भएको केही दिनमै नेतालाई चोर भन्छन भनेपछि त उनको हाईहाई नै भयो । अब लिङ्देनको एउटै मिशन छ, इतिहासको कालखण्डमा मिल्काइएको एउटा राजा फर्काउने । तर उनको यो मिशन ‘नमच्चिने पीङको सय झट्का’ जस्तै छ, र उनका लागि ‘शिरमा टोपी छैन, खुट्टामा खोल’ जस्तो ।

राजसंस्था फर्काउनका लागि जीवनको स्वर्णिम समय खर्चिएका कमल थापा उत्तरार्धमा आएर गणतन्त्रवादी बनेका छन् । ‘हराएको गाई सूर्यलाई दान’ भन्ने नेपाली उखान जस्तै थापाको राजनीतिसमेत एमालेको सूर्यमा मिसिएको छ । भलै उनी एमाले प्रवेश गर्न बाँकी छ । थापा बाहिरिएपछि लिङ्देनका राजा फर्काउने सहयात्री भने ज्ञानेन्द्र शाही र ज्वाला संग्रौला जस्ता केही अभियन्ता बनेका छन् । जसलाई नेपाली समाजले ‘टपरटुइँया फेसबुके’ भनेर चिन्ने गरेको छ । यस्ता फेसबुके र युटुवे अभियन्तालाई पार्टी प्रवेशको लहर नै चलाएका लिङ्देनले के राजा फर्काउलान् त ? गणतन्त्रवादीहरु उनका मजाक उडाउँछन् ।

राप्रपाका एक्ला सांसद लिङ्देन राजा फर्काउने मिशनमा पनि एक्ला छन् । राजसंस्थाको औचित्य नभएको भन्दै सहकर्मीहरु नै साथबाट छुट्टिएका बेला बचेकुचेको अस्तित्व पनि यही चुनावमा मेटिने संकटमा छ । विगतमा लिङ्देनले एमालेको साथ पाएर प्रतिनिधिसभाको चुनाव जितेका थिए । गृहजिल्ला झापामा एमालेसँगै गरेको तालमेलबाट भाइलाई पालिका मेयरसमेत जिताएका थिए । अहिले उनका पूर्वसहकर्मी कमल थापाले एमालेको चिन्हबाट चुनाव लड्दै छन् । थापानै एमालेसँग तालमेलमा सामेल भएपछि लिङ्देन विगतजस्तो मिल्ने सम्भावना रहनेछैन । अर्कोतिर पाँच दलीय गठबन्धन छ । फलतः लिङ्देन आफैलाई चुनाव जित्न चुनौती छ ।

यसका अघि राजा फर्काउने उनको मिशन कहाँ पुग्छ स्वयम् उनको आँकलन बाहिर छ । तर पनि ओली, देउवा र प्रचण्डसँग भिड्ने ताकत लिङ्देनसँग मात्रै रहेको बताउनेहरुको पनि कमि छैन । विगतदेखि नै राप्रपाको मुल एजेन्डा राजसंस्था पुनःस्थापनाको हो । तर कमल थापा र प्रकाशचन्द्र लोहनी जस्ता पूर्वपञ्चहरु धेरैपटक गणतन्त्रवादी सरकारमा सामेल भए । सरकारमा रहँदा राजसंस्था फर्काउने नामसमेत लिएनन् । अहिले थापा पूर्वराजामाथि नै आरोप लगाएर राजसंस्थाको लाइनबाट बाहिरिएका छन् ।नयाँ पञ्जका रुपमा उदाएका लिङ्देन तेज गतिमा राजा फर्काउने कुरा गरिरहेका छन् । र उनका कुरा, ‘सिपालीले सीप लायो मुखुण्डीले मुख लायो’ भन्दा बढी देखिएका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*