चितुवाको छालासहित गुर्जुधाराबाट ३ जना पक्राउ
काठमाडौं । प्रहरीले दुर्लभ वन्यजन्तु चितुवाको छालासहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं गुर्जुधारा बस्ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुरको थाहा नगरपालिका–१२ बस्ने २४ वर्षीय बालदेन वाइबा र साकेला गाउँपालिका–३ बस्ने ४६ वर्षीय दिलबहादुर तामाङ छन् ।
विशेष सूचनाको आधारमा उनीहरुलाई काठमाडौंको गुर्जुधाराबाट महानगरी प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट १ मिटर ३० सेन्टिमिटर चितुवाको छाला बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।







