हेटौंडा उपमहानगर: नेकपा एसको बटमलाइन

अखबार हब
२०७८ चैत्र २९, मंगलवार २१:२८

मकवानपुर । सत्तारूढ दलहरूबीच वैशाख ३० को स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने सहमतिले व्यवहारिक रुप लिन सकिरहेको छैन । सोमबारको संयुक्त वक्तव्यसँगै अब सिट भागबण्डाको विषयले प्रवेश पाएको छ । केन्द्रबाट तल्ला तहसम्ममा भागबण्डा मिलाउन नसकिनेमा सबै दलहरू सहमत देखिन्छन् ।

यद्यपि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सबै तहको भागबण्डा केन्द्रबाटै हुनुपर्ने भन्ने पक्षमा छन् । जुन नेपाली कांग्रेसमा सम्भव नदेखिनेमा सबै दल सचेत छन् ।
कम्तिमा महानगरपालिका र उपमहानगरपालिकाहरूको भागबण्डा केन्द्रबाटै गर्नुपर्ने बुझाइमा गठबन्धनका दलहरू पुगेका छन् । यहीं कारण अहिले देशभरका ६ महानगर र ११ उपमहानगरको भागबण्डाको विषय सत्तारूढ दलहरूभित्र चर्चामा छ ।

बागमती प्रदेशको राजधानी सहर हेटौंडा उपमहानगरपालिका पहिल्यैदेखि एमालेको ‘गढ’ हो । त्यसैले यहाँ २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रका बीचमा तालमेल भएको थियो । तालमेलले पनि सम्भव भएन ।

मेयरमा एमालेका उम्मेदवार हरिबहादुर महत २३ हजार १ सय २४ मत पाएर बिजयी हुँदा कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५ सय मत पाएका थिए । राप्रपाका मधुकरप्रसाद पराजुलीले ६ हजार ८ सय ५७ मत ल्याएका थिए ।

अहिले यहाँ गठबन्धन दलका कांग्रेस र नेकपा एसको दाबी छ । अघिल्लो निर्वाचनमा नजिकको प्रतिस्पर्धी भएकाले कांग्रेसले दाबी गर्दा एमालेले जितेको ठाउँ र परम्परागत गढमा आफ्नो संगठनतिर तमाम नेताकार्यकर्ता आएकाले नेकपा एसले पनि दाबी गरिरहेको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि यही उपमहानगरपालिकाका भएकाले नेकपा एसले हेटौंडालाई बटमलाइन बनाएको छ । देशभर एउटा पाउँदा नेकपा एसले हेटौंडा नै पाउने देखिन्छ ।

दलहरूभित्र यो बार्गेनिङको क्रम चल्दैगर्दा हालसम्म अनौपचारिक छलफलमा चलेको खाका प्राप्त भएको छ ।

हालसम्म ११ मध्ये नौवटा उपमहानगरको भागबण्डाको एउटा प्रस्तावमा मोटामोटी सहमति भएको देखिन्छ । दुईवटामा अझै सहमति जुटिसकेको छैन । जसमा सबैको दाबी छ ।

अहिलेसम्म कांग्रेसलाई इटहरी, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी लगभग पक्कापक्की भएको छ । यद्यपि इटहरीमा नेकपा एसले दाबी छाडेको छैन । यस्तै माओवादी केन्द्रलाई जीतपुर सिमरा र घोराही, नेकपा एसलाई हेटौंडा र जसपालाई जनकपुर राखिएको छ ।

धरान र कलैयामा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपा सबैले दाबी गरेका छन् । तर कांग्रेसले पहिल्यै जितेका उपमहानगर भएकाले उसैले पाउनसक्ने स्रोत बताउँछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*