आसन्न निर्वाचनमा वियज हासिल गर्नु एमालेको अर्जुनदृष्टि : पौडेल

अखबार हब
२०७८ चैत्र २८, सोमबार २१:२१

मकवानपुर । आसन्न स्थानिय निर्वाचनमा विजय हासिल गर्नु नेकपा एमालेको अर्जुनदृष्टि भएको बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । अनेरास्ववियु मकवानपुरले आयोजना गरेको वृहत विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमालेलाई पराजित गर्नका लागि ५ वटा दलहरु मिलेर गठबन्धन गरेपनि एमालेले स्थानिय चुनावमा अत्याधिक स्थानमा जीत हासिल गर्न केन्द्रित रहेको बताए ।

एमालेले अब एताउता कतैपनि ध्यान नदिएर अबको अर्जुनदृष्टि निर्वाचनमा नै केन्द्रित रहने उनले बताए । जेष्ठ नागरिक र बालबालिकाका अधिकार हितका निमित्त नेकपा एमालेले काम गरिरहेको भन्दै उनले नेकपा एमालेले जसरी अरु पार्टीले काम गर्न नसक्ने दाबी गरे । ‘‘जब नेकपा एमालेको सरकार बन्छ त्यति बेला मात्रै सरकारको अनुभुति जनताले गरेका हुन्छन् ।” उनले भने । मनमोहन अधिकारीको पालामा बनेको नेकपा एमालेको ९ महिने सरकार नै आजसम्म सबैभन्दा लोकप्रिय सरकार बनेको स्मरण गर्दै उनले मुलुकको परिवर्तनका लागि, विकासका लागि, समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यमा पुग्नका लागि, सुशासनका लागि, जेष्ठ नागरिकदेखि बालबालिकाहरुको हितका लागि तथा विद्यार्थीको सुनौलो भविष्यको लागि अब देशमा नेकपा एमाले नै आवश्यक भएको बताए । उनले सम्पुर्ण विद्यार्थीहरुलाई आफ्नो घर, समाजमा एमालेलाई जिताउन सक्रिय रुपमा लाग्न अनुरोध समेत गरे ।

अहिले गठबन्धनको सरकार बनेको ९ महिना हुँदा एउटा सिन्को भाच्ने काम नभएको र एमालेको सरकारले गरेका कामहरुलाई, योजनाहरुलाई खारेज गर्ने काम भइरहेकाले यिनीहरुलाई खबरदारी गर्नुपर्ने उनको भनाई थियो । २०७४ सालमा एमालेको सरकार बनेपछि धेरै विकासका काम भएको बताउँदै उनले आफ्नै पार्टीको सरकार गिराउन पार्टी फुटाएर खरानस् पार्टी निर्माण गरी अरुसँग गठबन्धन गर्न जाने गद्धारहरु अब हामी बिचमै भोट माग्न आउने भएकाले यिनीहरुलाई भोट नदिन समेत अपिल गरे।

अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, नेकपा एमाले बागमती प्रदेश उपसचिव महेश बर्तौला, प्रदेश सदस्य रघुनाथ खुलाल, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला सचिव नविन सिग्देल, जिल्ला सचिवालय सदस्यहरु ईश्वर ढुङ्गाना, सुनिल मोक्तान, जिल्ला सदस्यहरु लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*