अनेरास्ववियु मकवानपुरले निर्वाचनलक्षित बृहत भेला गर्दै

अखबार हब
२०७८ चैत्र २७, आईतवार २१:१०

मकवानपुर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीले भोलि बृहत भेला गर्ने भएको छ ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गरी अनेरास्ववियुले स्थानीय निर्वाचन केन्द्रित बृहत भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्न लागेको अनेरास्ववियु मकवानपुरका अध्यक्ष बिशाल पौडेलले जानकारी दिए ।

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख अथित्यतामा भेला गर्न लागेको उनले बताए ।

भोलि बिहान ७ः३० बजे र्याली मकवानपुरका विभिन्न क्याम्पसबाट शुरु भइ हेटौंडा–४ स्थित कार्यक्रम स्थलमा पुगेर भेलामा रुपान्तरित हुने उनले बताए ।

र्यालीमा बागमती प्रदेश सरकारले जारी गरेको हेटौंडा अस्पताललाई मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्ने अध्यादेश खारेजी माग गर्दै प्ले कार्डसहित नारा जुलुस हुनेछ । प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग्याउने र प्रतिष्ठानलाई चितवन सार्ने निर्णयको बिरुद्धमा मकवानपुरभरका अनेरास्ववियु आवद्ध विद्यार्थीहरु एकजुट भइ सडकमा नारा जुलुससहित र्याली गर्नेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेलले स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई जिताउनसमेत अनेरास्ववियुले भूमिका निभाउनुपर्ने भन्दै कार्यक्रमबाट नयाँ दिशासहित निर्वाचनमा होमिन आग्रह गरे ।
पत्रकार सम्मेलनमा अनेरास्ववियुका नेता तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*