देउवाको काँधमा बन्दुक राखेर पड्काउँदै प्रचण्ड

अखबार हब
२०७८ चैत्र २६, शनिबार २२:०७

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई २०७४ सालकै अवस्थामा पुर्याउने भएका छन् । स्थानीय निर्वाचनको मुखैमा सरकारले एकपछि अर्को विवादास्पद निर्णय गरेपछि आमनेपाली जनता चिन्तित भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निजी स्वार्थमा सरकारले धमाधम निर्णय गरेको छ । जसको अहिले चौतर्फी विरोध भइरहेको छ । राजदूत नियुक्ति र गभर्नर निलम्बन प्रकरणले आगामी निर्वाचनमा कांग्रेसलाई ठूलो धक्का लाग्ने विश्लेषण हुन थालेको छ ।

अहिलेको निर्णयले घाटा लाग्ने भनेको सिर्फ नेपाली कांग्रेसलाई मात्र हो । माओवादीलाई कुनै घाटा हुने छैन । कांग्रेससँग मन मिलेन भने प्रचण्ड तत्काल एमाले अध्यक्ष केपी ओलीको शरणमा पुग्न सक्छन् भन्ने धेरैलाई विश्वास छ ।

त्यसैले अहिलेको सरकारले गर्ने हरेक निर्णयले कांग्रेसको भविष्य निर्धारण गर्छ । किनभने अहिले प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसका सभापति पनि हुन् ।

उनी अहिले धमाधम प्रचण्ड र माधवकुमार नेपालले जे जे भनिरहेछन् खुरुखुरु त्यही त्यही मानिरहेका छन् । माधव नेपालले बहिनी ज्वाइँलाई राजदूत नियुक्त गर्न सिफारिस गरे । देउवाले गरिदिए ।

अर्थमन्त्री जनार्दन शर्माले एक व्यक्तिको ४० करोड रुपैयाँ जुन अमेरिकाबाट ल्याउन खोजिएको थियो, त्यो ल्याउन दबाब दिँदा नमानेकैले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्न सिफारिस गरे ।

प्रधानमन्त्री देउवाले सोचविचारै नगरी निर्णय गरिदिए । त्यसैले अहिले नेपाली कांग्रेस र सरकार दुवै प्रचण्डको रिमोट कन्ट्रोलबाट चलिरहेको भन्दै आमकांग्रेसी चिन्तित बन्न थालेका छन् ।

वास्तवमा अहिले बर्खास्त गर्नुपर्ने अर्थमन्त्री शर्मालाई थियो । धेरैले प्रधानमन्त्री देउवाले देशको अर्थतन्त्र टाट पल्टाउने गरी काम गरेको आरोपमा शर्मालाई निलम्बन गर्लान् भन्ने अपेक्षा गरेका थिए ।

तर, भइदियो उल्टो । गभर्नर अधिकारीले एमाले अध्यक्ष ओलीलाई सूचना पुर्याएको झुटा आरोप लगाउँदै प्रचण्डले गभर्नरलाई निलम्बन गर्न सिफारिस गरेको धेरैलाई थाहा नभएको होइन । तर, प्रधानमन्त्री देउवाले अलिकति पनि त्यसबारे सूचना लिन चाहेनन् ।

प्रधानमन्त्रीको सचिवालय कमजोर हुँदा र उनलाई सल्लाह दिने व्यक्ति निरीह हुँदा सरकारले एक पछि अर्को दुर्भाग्यपूर्ण निर्णय गरिरहेको विश्लेषकहरूको ठम्याइँ छ ।

अहिले प्रचण्डको भित्री रणनीति जसरी भए पनि कांग्रेसलाई कमजोर बनाउनेतिर लक्षित छ । उनी जहिले पनि अस्थिरतामा खेल्ने नेता हुन् ।

कांग्रेसलाई रणभुल्लमा पारेर आफ्ना स्वार्थ पूरा गर्ने प्रचण्डको पहिलेदेखिकै बानी हो । उनले तत्काली कांग्रेस सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पनि धोका दिएकै हुन् । अहिले पनि उनी देउवाको काँधमा बन्दुक राखेर पड्काउन तल्लिन छ । साभार : मिडिया डबली

यसमा तपाइको मत

Your email address will not be published.


*