हेटौंडाको मेयर बन्न एमालेभित्र चार हस्तीको चर्चा

अखबार हब
२०७८ चैत्र २६, शनिबार १२:४७

मकवानपुर । स्थानीय तहको निर्वाचन नजिकिएसँगै मकवानपुरका सबै दलका नेतालाई चुनाव लागेको छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा नगरीमा चुनावी सरगर्मी बढ्दै गएको हो ।

दलहरु उम्मेदवार टुंग्याउने ध्याउन्नमा छन् । एमालेले उपहानगरका १९ वडासहित जिल्लाभरका सबै वडाध्यक्ष र सदस्यका उम्मेदवार टुंग्याउँदैछ । सत्तारुढ गठबन्धन आवद्ध दलहरु भने वडा तहसम्मै चुनावी गठबन्धनको तयारीमा छन् । एकपटक संयुक्त बैठक गरिरहेका दलहरु अहिले आ–आफ्नो शक्ति केलाउँदै छन्, जसले गठबन्धनभित्र भागबण्डाको आधार तय गर्ने नेताहरू बताउँछन् ।

पुरानो नगरमध्ये एक हेटौंडामा एमालेले लामो समयदेखि नेतृत्व गर्दै आएको छ । २०७४ मा एमालेले १२ वडासहित प्रमुख र उपप्रमुख दुवै जितेको थियो । त्यसबेला नेपाली कांग्रेस र माओवादी मिल्दा पनि विजयी बनेको एमाले पार्टी फुटका बावजुत पनि हौसिएकै छ ।

उसले यसपटक पनि आफूले नै जित्ने दाबी गरिरहेको छ । ‘गठबन्धनको प्रतिष्पर्धामा हामी २०७४ मा पनि खरो उत्रिएकै हौं,’ एमालेको मकवानपुर जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ भन्छन्, ‘अघिल्लो पटक पनि गठबन्धनलाई जितेकाले कुनै नौलो लागेको छैन । यो पटक पनि जनमतका आधारमा परास्त गर्छौं ।’

एमाले पार्टीभित्र फेरि पनि जितिने आँकलन भएकै कारण होला, उपमहानगर प्रमुखको उम्मेदवार बन्न हानथाप छ । प्रमुख पदका लागि चारजना नेताले खुलेरै दावेदारी प्रस्तुत गरेका छन् ।

हालका उपमहानगर प्रमुख हरिबहादुर महत दोहोरिन चाहन्छन् । पाँच वर्षमा नगर प्रमुखका रुपमा आफूले राम्रो काम गरेकाले दोहोरिन चाहेको महतले बताए ।

एमाले प्रदेश सदस्यसमेत रहेका जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलाल पनि प्रमुखको दाबेदार हुन् । ‘प्रमुखका लागि म सक्षम छु,’ उनी भन्छन्, ‘ठोस ढंगले उपमहानगरलाई हाँक्छु भन्ने विश्वासका साथ पार्टी समक्ष दाबी पेस गरेको छु ।’

अर्का दावेदार हुन्, अनन्त पौडेल । उनी एमालेको बागमती प्रदेशको संगठन विभाग प्रमुख हुन् । पौडेल संविधानसभा सदस्यसमेत हुन् ।

रामेश्वर रानाले पनि प्रमुखमा दाबी गरेका छन् । जिल्ला विकास समितिको सभापति भएर काम गरिसकेका राना मकवानपुर जिल्ला इन्चार्ज समेत हुन् ।

जिल्लाका हस्तीहरु नै प्रमुखको दावेदारीमा उत्रिएपछि एमालेलाई उम्मेदवार टुंग्याउन सकस छ । एमाले जिल्ला अध्यक्ष श्रेष्ठका अनुसार छिट्टै सबै पालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरका प्रमुख, उपप्रमुखका उम्मेदवारको छनोट हुनेछ ।

सकेसम्म सर्वसम्मतिको प्रयास गर्ने र नभए चुनावबाट टुंग्याउने उनको भनाइ छ । ‘हामी सकेसम्म सहमति, नभए चुनावबाट पनि टुंग्याउँछौं,’ श्रेष्ठले भने, ‘उपमहानगरमा दावेदारको संख्या धेरै छ, त्यो स्वभाविक पनि हो । त्यसलाई हामी एउटा विधि प्रक्रियाबाट टुंग्याउँछौं ।’
विधि र प्रक्रिया भनेको सर्वसम्मत हुन नसेको अवस्थामा पार्टीको आन्तरिक चुनावबाट उम्मेदवार टुंग्याउने हो । एमालेको हेटौंडा उपमहानगर कमिटीका सदस्यहरुले मतदान गरेर उम्मेदवार चयन गर्ने छन् । १०७ सदस्यीय नगर कमिटीमा बहुत ल्याउने नै एमालेको तर्फबाट उपमहानगर प्रमुखको उम्मेदवार बन्ने छ ।

यता गठबन्धन भने आन्तरिक गृहकार्यमै छ । गठबन्धन आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी २०७४ को चुनावी परिणाम र हालको सांगठानिक अवस्थामा आधारित भएर आन्तरिक मुल्यांकनमा जुटेका छन् । त्यसपछि गठबन्धनभित्र दावेदारी प्रस्तुत गर्ने काम हुने देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*