आफ्नो अक्षमताको ढाकछोप गर्न सरकारले गर्‍यो राष्ट्र बैंकका गभर्नर निलम्बन

अखबार हब
२०७८ चैत्र २५, शुक्रबार २२:१८

काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बिना कुनै प्रक्रिया निलम्बन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सुरुदेखि नै अधिकारीप्रति नकारात्मक धारणा राख्दै आएका थिए ।

मुलुकलाई आर्थिक संकटबाट रोक्न पटक पटक लिखित र मौखिक सुझाव दिँदै आएका अधिकारीलाई अर्थ मन्त्रालयले निलम्बनको पत्र थमाएर डेपुटी गभर्नर निलम ढुंगानालाई कामु जिम्मा दिएको छ ।

मन्त्रिपरिषद्को बिहीबारकै बैठकको निर्णयमा निलम्बनको ब्यहोरा मिलाइएको स्रोतले जनाएको छ । बैठकले उनीमाथि छानबिनको निर्णय गरेको बताइएको छ ।

अधिकारीलाई २०७६ साल चैत २४ मा तत्कालीन केपी ओली सरकारले गभर्नर नियुक्त गरेको थियो । सरकार परिवर्तनपछि अर्थमन्त्री बनेका जनार्दन शर्माको अधिकारीसँग सम्वन्ध राम्रो बन्न सकेको थिएन ।

सरकारले आफ्नो अक्षमता ढाकछोप गर्न गभर्नरलाई लिनम्बन गरेर उल्टो बाटो तय गरेको टिप्पणी अर्थ मन्त्रालयकै उच्च अधिकारीहरुले गरेका छन् ।

गभर्नर अधिकरीले पटकपटक अर्थ मन्त्रालयलाई सम्भावित संकटबारे जानकारी दिँदै सुधारका उपायहरु समेत सुझाइरहेका थिए ।

एमाले नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले शुक्रवार विहानै ट्वीट गर्दै अर्थमन्त्रीले आफ्नो अक्षमता लुकाउन गभर्नरमाथि हमला गर्न लागेको सूचना चुहाएका थिए ।

प्रधानमन्त्रीमाथि अर्थमन्त्री फेर्न दबाब परिरहेका बेला गभर्नरलाई निलम्बन गरेर विषयान्तर गर्न खोजिएको कतिपयले बताएका छन् । तर यसले अर्थतन्त्र र बजारमा झनै नकारात्मक असर पर्ने आशंका छ । चुनावको मुखमा सरकारले एकपछि अर्को विवादस्पद निर्णय गरेको भन्दै गठबन्धनमै असन्तुष्टी बढ्न थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*