डँढेलो रोक्न न्युरेनी चिसापानी सामुदायिक वनको अग्निरेखा
मकवानपुर । सुख्खायाम सुरु भएसँगै वन क्षेत्रमा डँढेलो लाग्ने सम्भावना बढेको छ । हावाहुरी धेरै चल्दा वनमा डँढेलो लाग्ने गरेको छ ।
वनलाई डँढेलोबाट जोगाउन हेटौंडा–७ को न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरु अग्नि रेखा बनाउन जुटेका छन् । छिमेकी वनमा डँढेलो लागेमा आफ्नो वनमा आउन नदिन उनीहरु अग्नि रेखा बनाउन व्यस्त भएका हुन् । डँढेलो रोक्न बालबालिकादेखि वृद्धवृद्धासम्म अग्नि रेखा बनाइरहेका छन् ।
बर्सेनि हेटौंडा–५, पिप्ले पोखरा वन क्षेत्रबाट फैलिने डँढेलोले हैरानी खेप्दै आएको न्युरेनी बनले डडेलोको समस्या सुरु हुनुअघि नै वन सिमा क्षेत्रमा अग्नि रेखा बनाउन थालेको हो । सुख्खायाममा रुखका पात सुकेर झर्ने र डँढेलो चाँडो सल्कने भएकाले सिमाक्षेत्रमा सरसफाइ कार्य गरेको समुहका अध्यक्ष ज्ञानबहादुर क्षेत्रीले बताए । कान्तिलोकपथमा जोडिएको पश्चिम सिमा रेखाबाट सुरु गरिएको अग्नि रेखा निर्माण कार्य मकवानपुरगढीको कालिखोला सिमासम्म लैजाने र पुर्वी सिमा रानी वन क्षेत्रमा अग्निरेखा निर्माण गरिने समुहले जनाएको छ ।







