‘पार्टीको निर्णय सबैले मान्नुपर्छ’– सभापति लामा

अखबार हब
२०७८ चैत्र १९, शनिबार २१:४४

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टीले गरेको निर्णय सबैले मान्नु पर्ने बताएका छन् ।

शनिबार रजैयामा काँग्रेस मनहरी गाउँपालिका समितिले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रम बोल्दै उनले मुलुक र लोकतन्त्र जोगाउनका निम्ति सत्तारुढ दलको बीचमा गठबन्धन आवश्यकता भएको बताउँदै पार्टीको निर्णय सबैलाई मान्नसमेत आग्रह गरेका छन् ।

आगामी स्थानीय तहको निर्वाचका लागि गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एक महिलासहित ३ जनाको नाम जिल्लामा सिफारिस गर्नुपर्ने उनले बताए ।

त्यस्तै मनहरी गाउँपालिका कांग्रेसको तर्फबाट अध्यक्ष पदमा ५ जना र उपाध्यक्ष पदमा ३ जनाले दावेदारी प्रस्तुत गरेका छन् । उक्त कार्यक्रमबीच अध्यक्षमा ५ जनाले र उपाध्यक्षमा ३ जनाले आफ्नो दावेदारी प्रस्तुत गरेका हुन् ।

अध्यक्षमा कांग्रेस नेताहरु भरत पराजुली, शंकर न्यौपाने, रञ्जन कालाखेती, नवराज उप्रेती र कमला मैनालीले दाबी गर्दा उपाध्यक्षमा जानकी लामा, जानुकी लामा र मीरा गौतमले दावी प्रश्तुत गरेका छन् । अध्यक्ष र उपाध्यक्ष पदका दावेदारहरुले आ–आफ्नो योजनासमेत सुनाएका थिए ।

कांग्रेस नेता भरत पराजुलीले मनहरीमा कांग्रेस एक्लै लड्दा पनि जित्ने अवस्था रहेको बताए । यो निर्वाचनमा गाउँपालिका अध्यक्षमै आफ्नो उम्मेदवारी रहने उनको दाबी थियो । पार्टीको आन्तरिक निर्वाचनमा क्षेत्रीय प्रतिनिधिमै हारेको प्रसंग निकाल्दै पराजुलीले भने, ‘बुथमा जितेको भए ठूलै ठाउँमा पुग्थें होला, गाउँपालिका दाबी गर्थिन होला । मलाई गाउँपालिकामै काम गर्नका लागि क्षेत्रीय प्रतिनिधिमा हराइएको हुन सक्छ । म यो पटक गाउँपालिका अध्यक्ष भएर काम गर्ने हो ।’

गाउँपालिका अध्यक्षका अर्का दाबेदार शंकर न्यौपानेले यसअघि कमजोर संगठन हुँदा पनि पार्टीको लागि उम्मेदवार भएको उल्लेख गर्दै यो पटक आफ्नो दाबी स्वभाविक भएको बताए । ‘कांग्रेस कमजोर भएको बेलामा पनि म उठेको हुँ । अध्यक्ष पदमा हारेपछि पनि संगठन निर्माणमा निरन्तर लागें’, उनले भने, ‘एकपटक फेरि मलाई दिइनुपर्छ भन्ने मेरो माग हो ।’ पक्षपातपूर्ण तरिकाले टिकट वितरण गर्न नहुने उनको भनाई थियो ।

अर्का दाबेदार रञ्जन कालाखेतीले मनहरी गाउँपालिका बासिन्दाको सेवाको लागि आफ्नो दाबेदारी भएको बताए । ‘अब हाम्रा नेताहरुले स्थानीय चुनावको तिक्तता छोड्दिनुहोस् । पार्टीलाई जिताउन लाग्नुको विकल्प छैन’, उनले भने, ‘कांग्रेस नेताहरुलाई मिलाउन पनि मेरो उम्मेदवारी हो ।’

गाउँपालिका अध्यक्षका अर्का दाबेदार नवराज उप्रेतीले अध्यक्ष पदमा कोही महिला आए आफू उपाध्यक्ष पदमा उठ्न तयार भएको बताए । दाबेदार धेरै रहेको प्रसंगमा उनले टिकट पाउनेलाई नपाउनेले सहयोग गर्छु, जिताउन लाग्छु भनेर कमस खानुपर्ने धारणा राखे । अध्यक्ष पदमै दाबी प्रस्तुत गरेकी कमला मैनालीले महिलामैत्री गाउँपालिका बनाउनका लागि अध्यक्षमा आफ्नो दाबेदारी भएको बताइन् । ‘समाजको सकारात्मक विकासका लागि मेरो उम्मेदवारी हो । अवसर दिए केही गरेर देखाउनेछौं’, उनले भनिन्, ‘किसानलाई ट्याक्टर र मल निःशुल्क वितरण गर्नेछु ।’ गाउँपालिका उपाध्यक्ष पदका दाबेदारहरु जानकी लामा, जानुकी लामा र मीरा गौतमले गाउँपालिकालाई महिलामैत्री बनाउँदै जनताको हितमा काम गर्नका लागि आफ्नो दाबेदारी भएको बताएका छन् ।

कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिका सभापति बर्तौलाले पार्टीको निर्देशन र आवश्यकता अनुसार गठबन्धनको निर्णय हुने बताउँदै पार्टीलाई जिताउने गरी गाउँ टोलमा खट्न कार्यकर्तालाई अनुरोध गरे ।

कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिको अध्यक्ष पदमा चयन भएका कांग्रेसका पूर्व जिल्ला सदस्य सीताराम अर्याललाई सम्मान गरिएको थियो । कार्यक्रममा मनहरी ७ नम्बर वडा सभापति उमेश मोक्तान, क्षेत्र नम्बर २ संघीय सभापति लोक मोक्तान, मनहरी गाउँपालिका उपसभापति उत्तम थापा, सचिव अनन्तप्रकाश अर्याललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाबीच विभिन्न पार्टी परित्याग गरी ३६ जना कांग्रेसमा प्रवेश गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*