हेटौंडाको स्कुलरोडमा चार सय जना एमालेमा प्रवेश
मकवानपुर । हेटौंडा –४ स्थित स्कुल रोडबाट ४ सय जना नेकपा एमालेमा प्रवेश गरेका छन् । बिभिन्न पाटी परित्याग गरेर चार सय जना एमालेमा प्रवेश गरेका हुन् । शनिबार नेकपा एमाले ४ नम्बर वडा बजार पश्चिम टोल कमिटीको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा एकैपटक ४ सय जना भन्दा बढी युवा तथा महिलाहरु पार्टी प्रवेश गरेका हुन् ।
पार्टीमा प्रवेश गरेकाहरुलाई एमालेका नेता तथा पुर्व मुख्यमन्त्री डोरमणि पौडेल, एमालेका केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत लगायतकाले खादा र टिका लगाएर स्वागत गरेका थिए।
कार्यक्रममा सरबेन्द्र लामाको नेतृत्वमा पार्टी प्रवेश गरेकाहरुलाई पार्टीका प्रदेश कमिटीका सदस्य अनन्त पौडेल लगायतकाले स्वागत गर्नुभयो । एमालेको संघीय, प्रदेश र स्थानिय सरकारले गरेका विकास निर्माणका कामहरुबाट प्रभावित भएर नै सबैजना एमाले प्रवेशको लहर चलेको पौडेलले बताए ।
पछिल्लो समय देशभर दशौं हजारको संख्यामा एमाले प्रवेश गरेको समाचार आइरहँदा देश नै एमालेमय बनेको पनि उनले दावी गरे । साथै एमाले प्रवेश गरेको समाचार आउँदा एमाले छोडेको समाचार नसुनिनुले पनि एमाले देशमै सर्वाधिक ठूलो पार्टी रहेको पुष्टि भएको पनि उनले बताए ।
कार्यक्रममा उपमहानगरपालिकाका मेयर तथा पार्टीका प्रदेश कमिटीका सदस्य हरि बहादुर महतले आफ्नो नेतृत्वमा उपमहानगरपालिकाले हेटौंडाका टोल टोलमा विकासको मुल फुटाएको बताए । नेकपा एमाले ४ नम्बर वडा बजार पश्चिम टोल कमिटीका अध्यक्ष दिपेन्द्र लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले अहिले एमाले प्रवेश गर्नेहरुको लहर निकै बढेको बताए । अरु गठबन्धन हुदा र एमाले एक्लैले चुनाब लड्दा कुनै समस्या नहुने उनले बताए।







