सप्तरीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु, पाँचजना घाइते
जनकपुरधाम । टिपरले बोलेरो गाडीलाई ठक्कर दिँदा सप्तरीमा एकजनाको मृत्यु भएको छ। अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
बिहीबार साँझ सप्तरीको खडक नगरपालिका वडा नं ५ रंजितपुरस्थित पूर्व पश्चिम राजमार्गमा विद्युत कार्यालय बोदेबर्साइनको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख २६५८ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिँदा बोदेबर्साइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर बोदेबर्साइन–१० का ३० वर्षीय शैलेश यादव, ३० वर्षीय महेश चौधरी, वडा नं ५ का २६ वर्षीय वृजेशकुमार यादव, ३० वर्षीय जयशंकर साह र सिरहाको लहान नगरपालिका–८ का ३५ वर्षीय अरुणकुमार सिंह घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
दुर्घटनामा परेकाहरुलाई उपचारको लागि अस्पताल पठाएकोमा घाइतेहरुमध्ये चालक शिवराजको मृत्यु भएको हो। टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।







