काँग्रेस मकवानपुरको विवाद उत्कर्षमा, संस्थापनविरुद्ध समान्तर कमिटी बनाउने चेतावनी
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरको विवाद उत्कर्षमा पुगेको छ । जिल्ला समिति सदस्य मनोनितको विषयलाई लिएर नेपाली कांग्रेस मकवानपुरमा विवाद बढेको हो ।
गतहप्ता सभापति बुद्ध लामाले पराजितसहित आफूलाई निर्वाचनमा सहयोग गर्ने दश जनालाई जिल्ला सदस्यमा नियुक्त गरेसँगै कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको हो ।
शनिबार साँझ हेटौंडाको मेनरोडस्थित होटल लिडो इनमा बसेको संस्थापन इतर समूहको बैठकले जिल्ला सदस्यमा मनोमानी तवरबाट भएको नियुक्ती खारेज गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकले यस्तै प्रवृत्तिमा संस्थापन पक्ष अगाडी बढे समानान्तर जिल्ला समिति बनाएर अगाडी बढ्ने चेतावनीसमेत दिइएको छ ।
‘जिल्ला सदस्यमा आफ्नो पक्षबाट मात्र मनोनित गरिएको छ । त्यो फिर्ता हुनुपर्छ भन्ने हाम्रो माग हो । जिल्लामा निर्वाचित भएकाहरुलाई अझै प्रमाणपत्र दिइएको छैन । तर, मनोनितलाई दिइसकियो । यसबाटै प्रष्ट हुन्छ हामीमाथि गरिएको व्यवहार ।’, जिल्ला सचिव इश्वर पाठकले भने, ‘आफ्नो खल्तीको मान्छेलाई टिकट वितरण गर्न सहज हुने गरी मनोनित गरिएको हो ।’
वैठकले संस्थापविरुद्ध एकजुट भएर अगाडि बढ्ने समेत निर्णय गरेको छ । वैठकमा ५ पदाधिकारीसहित २७ जना निर्वाचित जिल्ला सदस्यको उस्थिति रहेको दावी गरिएको छ ।
इतर समुहको बैठकले आउँदो स्थानीय तहको निर्वाचमा आफ्नै ढंगले उमेदवार छनोट गरेर निर्वाचनमा जाने तयारीसमेत गरिएको बैठकमा सहभागि एक पदाधिकारीले जानकारी दिए ।
पार्टीको संस्थापन पक्षले एकलौटी ढंगले जिल्ला सदस्यहरु मनोनित गरिएको काम फिर्ता नलिएसम्म बैठकसमेत बस्न नदिने चेतावनी दिइएको छ ।
भेलामा कांग्रेस पूर्वसभापतिद्वय रामचन्द्र अर्याल माइकल, रघुरमण न्यौपाने र सभापतिका प्रत्याशी जयराम लामिछानेलगायतले सम्बोधन गरेका थिए ।







