‘सिङ्गल’प्रतिस्पर्धामा आउन काँग्रेसलाई भट्टराईको चुनौती
मकवानपुर । नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी निर्वाचनमा काँग्रेसलाई एक्लै प्रधिप्रर्धामा आउन चुनौती दिएका छन् ।
शनिवार हैटौंडामा प्रेस चौतारी मकवानपुरले अयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले काँग्रेसलाई गठबन्धन नगरी एक्लै चुनावी प्रतिस्पर्धामा आउन चुनौती दिएका हुन् ।
एमालेले स्थानीय निर्वाचनमा कुनैपनि दलसंग तालमेल नगर्ने बताउँदै उनले भने –‘एमालेसँग प्रतिस्पर्धा गर्ने हो भने काँग्रेसले नन्दीभिरङ्गी नबोकी सफाट–सफाट प्रतिस्पर्धामा आए हुन्छ ।’ ‘अहिलेको गठबन्धन असफल भइसक्यो एमालेसँग प्रतिस्पर्धा गर्न काँग्रेस सिङ्गल आए हुन्छ’ उनले भने ।
भट्टराईले एमालेले आन्तरिकरुपमा चुनावको तयारी अगाडि बढाइसकेको बताए । ‘हामी वैशाखको पहिलो हप्ताभित्रमा उम्मेदवार टुंग्याउने छौं । वैशाख ९ गते एकैदिन देशभर घोषणापत्र सार्वजनिक गर्नेछौं ।’, उनले स्थानीय तहमा मधेशमा ठूलो सफलता मिल्ने दाबी गरे । ‘पार्टी फुटको असर परेको छ । तर, हाम्रो पार्टीमा आउने क्रम बढेको छ । जसको क्षति हामीले पूर्ति गरिसकेका छौं । मधेशमा हामी बलियो भएका छौं ।’, उनले भने ।
उनले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेसँग नजिक हुन्छौं भनेर शेरबहादुर देउवालाई तर्साउन बन्द गर्न पनि आग्रह गरे । ‘कांग्रेस एमालेबीच तालमेल हुँदैन । प्रमुख शक्तिबीच प्रतिस्पर्धा आवश्यकता छ ।’, भट्टराईले एमालेले घोषितरुपमा गठबन्धन नगर्ने र आवश्यकता अनुसार गर्ने अधिकार तल्लो तहलाई दिने बताए ।







