चार निर्वाचन जितेका खतिवडा पहिलोपटक मन्त्री
मकवानपुर । स्वास्थ्यमन्त्री विरोध खतिवडा चौथो पटक सांसदमा प्रत्यक्ष निर्वाचित भए पनि पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हुन् । संसदीय राजनीतिको माहिर खेलाडीको रुपमा हेरिने खतिवडा प्रजातन्त्र पुनर्स्थापनापछि भएका २०४८, २०५१, २०५६ को आमनिर्वाचन जितेका थिए । संविधानसभाको दुवै निर्वाचनमा भने उनलाई पार्टीले उम्मेदवार बनाएन ।
२०७४ सालमा भएको प्रतिनिधिसभाका खतिवडाले मकवानपुर २ बाट निर्वाचित भएका हुन् । २०१७ सालमा मकवानपुरमा जन्मिएका खतिवडाले पञ्चायतकालमा राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेका थिए ।
वाककला नेताको रुपमा रहेका खतिवडा आफ्नो धारणा स्पष्टसँग राख्न सक्ने नेताहरुको चिनिन्छन् । नेकपा ९एमाले०को नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । एमाले विभाजित भएसँगै उनी नेकपा (एकीकृत समाजवादी)तर्फ लागेका छन् । सो पार्टीको स्थायी कमिटीका सदस्य हुन् ।
कानुनमा स्नातक गरेका खतिवडा २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका हुन् । खतिवडाको परिवारका सदस्यहरु राष्ट्रिय राजनीतिमा चर्चामा रह्यो । पिता बद्रीप्रसाद शिक्षक आन्दोलनका अगुवा हुन् भने पत्नि मुनु सिग्देल नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य र वाग्मती प्रदेशसभाकी सांसद हुन् ।







