मुख्यमन्त्रीद्वय शाक्य र आचार्यलाई एक हप्ताभित्र हटाउँछौंः नेपाल
कास्की । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र वागमती र एक नम्बर प्रदेशका मुख्यमन्त्री हटाउने बताएका छन् । संविधान दिवसका अवसरमा आइतबार पोखरामा पार्टीको विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सातै प्रदेशमा एमालेभन्दा आफ्नो पार्टी बलियो रहेको बताए ।
‘सुदूरपश्चिममा एक नम्बर पार्टी भएका छौं । दुई नम्बर प्रदेशमा केपी ओलीको पार्टीलाई पछाडि धकेलेर हामी अघि उभिएका छौं । कर्णाली प्रदेशमा टक्कर दिएर धूलो चटाइदिएका छौं,’ उनले भने, ‘१ र ३ (वागमती) प्रदेशमा एक हप्ताभित्र केपी ओलीको सरकारलाई हटाएर हामी सरकारमा जाने बारेमा सोचिरहेका छौं । यो पार्टीमा ९ प्रतिशत छ, ५ प्रतिशत छ भनेर झूटा प्रचार कसैले गर्छ भने त्यसलाई नपत्याउनुस् ।’ गण्डकी प्रदेशमा भने आफू पक्षधर नेता कार्यकर्तालाई विगतमा टिकटबाट बञ्चित गराएर माथि उठ्नै नदिइएको उनले बताए । भने, ‘यहाँ पनि पीडित छन् । देशभरिका पीडित–पीडित एकताबद्ध भएका छौं ।’







