‘ए’ डिभिजन लिग र प्रदेश लिगका लागि वागमती र एन्फाबिच सहकार्य

अखबार हब
२०७८ आश्विन २, शनिबार ०८:१६

मकवानपुर । देशकै सबैभन्दा सर्वाधिक धनराशिको उपाधी पुरस्कार भएको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता र प्रदेश लिग फुटबल प्रतियोगिताको विषयमा अखिल नेपाल फुटबल संघ एन्फा र बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास परिषद्बिच सम्झौता भएको छ । शुक्रबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीबिच दुबै प्रतियोगितामा प्रदेश सरकारले सहकार्य गर्दै १ करोड रुपैयाँ प्रदान गर्ने गरी सम्झौता भएको हो ।

देशकै सबैभन्दा पुरानो लिग फुटबलको रुपमा समेत रहेको ए डिभिजन लिगलाई बागमती प्रदेश सरकारले ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ । शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गर्दै एन्फा अध्यक्ष शेर्पा र सदस्य सचिव भण्डारीले वागमती प्रदेशको आर्थिक वर्ष २०७८/०७९को बजेट कार्यक्रममै ‘ए’ डिभिजन लिगलाई ५० लाख रुपैयाँ सहयोग प्रदान गर्ने उल्लेख गरिएअनुसार यसलाई कार्यान्वयन गर्नका लागि सम्झौता गरिएको जानकारी दिए । सम्झौताअनुसार प्रदेश सरकारले ए डिभिजन लिगमा हुने ९१ वटा खेलमा प्रत्येक खेलको विजेता टिमलाई म्याचमनिको रुपमा ५० हजार रुपैयाँको दरले रकम प्रदान गरिने छ । खेल बराबरी भएमा दुबै टिमलाई २५/२५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

सम्झौतामा भएको नियमअनुसार उक्त रकम खेलसकिएको १ हप्ता भित्रमा सम्बन्धित खेलको विजेता टिमको बैंक खातामा सामाजिक विकास मन्त्रालयले नै रकम उपलब्ध गराइने छ । यसरी ९१ खेलका लागि ४५ लाख ५० हजार रुपैयाँ, प्रतियोगितामा उदयमान खेलाडी (राइजिङ प्लेयर)का लागि १ लाख रुपैयाँ तथा प्रतियोगिता सम्बन्धि अफिसियल खर्चका लागि ३ लाख ५० हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै प्रदेशकै योजना कार्यक्रमअन्तर्गत ५० लाख रुपैयाँ बजेट परेको प्रदेश लिग प्रतियोगिता आयोजना गर्न पनि एन्फा र परिषद् बिच सम्झौता भएको छ । प्रदेशले आयोजना गर्ने प्रदेश प्रतियोगिता र प्रदेश लिग फुटबललाई सँगसँगै आयोजना गर्ने गरी सम्झौता भएको हो । प्रदेश फुटबल लिग संचालनको लागि ५० लाख रुपैयाँ वागमती प्रदेशले प्रदान गर्नेछ भने बाँकी आवश्यक पर्ने रकम एन्फाले नै व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*