अर्थमन्त्री शर्माको संसदभित्रै ‘गुरिल्ला शैली’, एकातिर घम्साघम्सी, अर्कातिरबाट दौडिँदै गरे ‘मिसन पूरा

अखबार हब
२०७८ भाद्र २५, शुक्रबार १५:१०

काठमाडौं । नेकपा एमालेले कुनै पनि हालतमा संसद चल्न अवरुद्ध गर्ने रणनीति अख्तियार गरेपछि शुक्रवार फरक दृश्य देखियो। अघिल्लो बैठकमा जस्तै आजको बैठकमा पनि घम्साघम्सी चल्यो भने नाराबाजीकै बिचमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकलाई अगाडि बढाइरहे। त्यही बिचमा अर्थमन्त्री जनार्दन शर्माले ‘गुरिल्ला’ शैलीमा आफूलाई प्रस्तुत गरे।

प्रमुख प्रतिपक्षका तर्फबाट बैठक अवरोध गरेको एमालेले शुक्रवार पनि बैठक सहज रुपमा चल्न दिएन। सभामुख अग्नि सापकोटाको विरुद्धमा उत्रिएको एमालेले सदनमा सरकारले पेश गर्न लागेको विधेकय प्रस्तुत हुन नदिन सकेसम्म मेहनत गरिरहेको थियो।

एमालेको अवरोधका बावजुद सभामुख अग्नि सापकोटाले पनि पेलेरै बैठक अघि बढाए। एमालेले भने संसदीय मर्यादा कायम गर्नुपर्ने भन्दै बैठकमा नाराबाजी जारी राख्यो। एमाले सांसदहरुले शुक्रवारको बैठक सुरु हुन नपाउँदै दौडिएर रोष्ट्रम अगाडि आएर नारावाजी गरेका थिए। पहिलो बैठकमा अवरोध गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरे। दोस्रो बैठमा पनि एमालेले अवरोध जारी राखेपछि सभामुख सापकोटाले सदनको कारवाही अघि बढाए।

संसदमा एमालेको अवरोधका बावजुत बुधवार गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धि विधेयक पेश गरेका थिए भने शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउने प्रस्ताव पेश गरे। उनले प्रस्ताव लिएर गएको दृश्य रोचक देखियो। एमाले सांसदहरुले उनलाई रोक्न खोज्दै थिए तर उनी गुरिल्ला शैलीमा दौडिँदै रोष्ट्रममा पुगे।

उनी रोष्ट्रममा जाने बेलामा मर्यादा पालकसँग एमालेका सांसदको भने घम्साघम्सी परिरहेको थियो। उक्त अवरोधलाई छिचोलेर रोष्ट्रममा पुगेका अर्थमन्त्री शर्माले प्रस्तावलाई सोझै पेश गरेका थिए।

प्रस्तावमाथि उठेका सवालको जवाफ दिँदै सेयर बजारमा मुल्य घटाउन बढाउन सरकारले भूमिका नखेलेको जवाफ दिएका थिए। सांसद प्रेम सुवालले घोटालाका विषयमा प्रश्न उठाएको भए पनि मन्त्रिपरिषद बैठकबाट निर्णय भएर अघि बढेको जवाफ फर्काएका थिए। यस्तै, अर्थमन्त्री शर्माले विनियोजन विधेयकको प्रस्तावलाई पनि संसदमा पेश गरेका थिए। उनको प्रस्तावलाई संसदमा बहुमतले स्वीकृत गरेको छ।

आजको बैठकमा शर्माले तीन वटा अध्यादेश पेश गरेर र पारित समेत गराए। यी तीनवटै अध्यादेश पूरा नहोउन्जेल उनी रोष्ट्रमको छेउमै बसिरहे। सहज परिस्थिति हुन्थ्यो भने यी तीनवटा प्रस्ताव र त्यसमाथि उठ्ने प्रश्न लगायतले पूरै दिन लाग्न सक्थ्यो। रोष्ट्रम छेउमा उभिएका मन्त्री शर्माले विपक्षी सांसद प्रेम सुवालले उठाएका प्रश्न उभिएरै टिपेका थिए जसको जवाफ उनले एकदमै छोटो रुपमा दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*