राजेश हमालको ‘सत्यम’का लागि पोखरामा भव्य सेट तयार

अखबार हब
२०७८ भाद्र १९, शनिबार १५:२९

काठमाडौं। नायक राजेश हमालले ‘कमब्याक’ गर्न लागेको फिल्म ‘सत्यम’का लागि भव्य सेट तयार गरिएको छ।

चलचित्रको निर्माण पक्षका अनुसार चलचित्रको छायांकनका लागि पोखरामा सेटको निर्माण गरिएको हो। पोखरामा निर्माण भएको सेट नेपाली चलचित्र इतिहासकै भव्य सेट भएको निर्माता रेशम सापकोटाले बताए। उक्त सेटको लम्बाईमा सय मिटर र चौडाइमा पचास मिटर रहेको छ।

तिहारपछि छायांकन सुरु गर्ने योजना रहेको फिल्मको सुटिङ मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा हुने बताइएको छ। फिल्ममा चार वटा आउटडोर सिनहरु रहेका छन् भने बाँकी सबै दृश्य सेटमा नै खिचिने निर्माण पक्षले बताएको छ। चलचित्रका निर्देशक शंकर कार्कीकाअनुसार फिल्ममा रहेका अधिकांश सिनहरु सेटमै खिचिएका हुनेछन्।

फिल्ममा चार वटा भूमिकामा देखिने राजेश हमालसँगै अनुप विक्रम शाही, पल शाह, अभय बराल लगायतका कलाकारहरु अभिनय गर्ने छन्। छायांकनका लागि उनीहरुसँग सम्झौता भइसकेको छ भने थप दुई नायिकासँग छिटै सम्झौता हुने निर्माण पक्षले बताएको छ। रेशम सापकोटाले उक्त फिल्मलाई लेखेका हुन् भने रेशम गौतम, सुवास भुर्तेल, श्याम मल्ल तथा कृष्ण अधिकारीले सह–निर्माण गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*