रोनाल्डो र युनाइटेडबीच दुईवर्षे सम्झौता

अखबार हब
२०७८ भाद्र १६, बुधबार १३:५५

१६ भदौ, काठमाडौँ । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आधिकारिक रूपमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा फर्केका छन् । युनाइटेडले मंगलबार आफ्ना पूर्वखेलाडी रोनाल्डोसँग दुई वर्षको सम्झौता गरेको जनाएको छ । रोनाल्डोलाई भित्र्याउन युनाइटेडले १५ करोड युरो खर्चेको बिबिसीले जनाएको छ । ३६ वर्षीय रोनाल्डो स्न २००९ मा युनाइटेड छाड्दै स्पेनिस क्लब रियल म्याड्रिडमा कीर्तिमानी रकममा अनुबन्धित भएका थिए ।

रोनाल्डोले युनाइटेड छाडेयता म्याड्रिड तथा सिरिए क्लब युभेन्ट्सबाट खेले । गत साता युभेन्टस्सँग सम्झौता नवीकरण नगर्ने घोषणा गर्दै रोनाल्डोले फ्री ट्रान्सफर विन्डोमा समावेश गरेका हुन् । उनलाई भित्र्याउन इंग्लिस प्रिमियर लिगकै साविक विजेता म्यानचेस्टर सिटी पनि इच्छुक थियो । तर, प्रावधिक कारणले सिटीले रोनाल्डोलाई अनुबन्धित गर्न सकेन । त्यसपछि रोनाल्डोमाथि युनाइटेडले प्रस्ताव राखेको हो ।

तत्कालीन युनाइेटडका प्रशिक्षक सर एलेक्स फर्गुसनको पालामा रोनाल्डोले दुई सय ९२ खेलमा एक सय १८ गोल गरेका थिए । युनाइेटडमा ६ सिजन बिताउँदा रोनाल्डोले तीन प्रिमियर लिग, एकपटक युरोपियन च्याम्पियन्स लिग र दुई लिग कप जितेका थिए । यसैगरी उनले एक–एकपटक एफए कप, फिफा क्लब विश्वकप र कम्युनिटी सिल्ड जितेका थिए । रोनाल्डोले सम्भवतः ११ सेप्टेम्बरमा न्युकासल युनाइटेडविरुद्ध खेल्नेछन् ।

रोनाल्डोले युनाइटेडमा सात नम्बरकै जर्सी पाउने सम्भावना छ । अहिले यो नम्बरको जर्सी उरुग्वेन खेलाडी इडिसन काभानीले लगाएका छन् । काभानी पनि रोनाल्डोलाई सात नम्बरको जर्सी हस्तान्तण गर्न लालायित छन् । युनाइेटडका प्रशिक्षक ओले सोल्सायरले आफ्ना पुरान मित्र तथा वर्तमान समयका उत्कृष्ट खेलाडीसँगको सहकार्य रमाइलो हुने जनाएका छन् ।

‘युनाइेटडमा रहँदा अति नै मिल्ने साथीलाई भित्र्याउन पाउँदा खुसीको सिमा नै छैन, रोनाल्डो व्यक्तिगत रूपमा असाध्यै राम्रो मान्छे हुन्,’ प्रशिक्षक सोल्यायरले भने, ‘मलाई विश्वास छ, युनाइटेड छाड्दा र फर्कदा रोनाल्डोको स्तर आकाश–जमिन फरक भइरहेको छ ।’

पुरानै क्लबमा फर्कन पाउँदा खुसी लागेको छ : रोनाल्डो
पुरानै क्लबमा फर्कन पाउँदा खुसी लागेको रोनाल्डोले बताएका छन् । ‘सबैलाई थाहा छ म को हुँ भनी, म्यानचेस्टर युनाइेटडलाई धेरै माया गर्छु, यो कहिले पनि समाप्त हुँदैन,’ रोनाल्डोले इन्टाग्राममा भनेका छन्, ‘अघिल्लोपटक म यहाँ जति बसेँ, ती सबै दिन स्मरणीय थियो, पुनः एकपटक युनाइेटडमा सुनौलो अक्षर लेखाउन चाहन्छु ।’

उनले वल्र्ड ट्राफोर्डसँग पुनः एकपटक नाता गाँसेको दिनको बारे चर्चा गर्ने शब्द नै नभेटिएको जनाएका छन् । ‘यति वेला म युनाइेटडबारे कहाँबाट सुरु गर्ने र कुन बिन्दुमा समाप्त गर्ने भन्ने दोधारमा छु,’ उनले भने, ‘म निःशब्द छु युनाइेटडले म फर्कन लागेको समाचार विश्वभरि फैलाएको छ, यसबाट स्पष्ट हुन्छ कि युनाइटेड र यसका समर्थकले मलाई कति माया गर्छन् ।’

यसमा तपाइको मत

Your email address will not be published.


*