अख्तियार हेटौंडाको काम प्रति सुशासन समितिको असन्तुष्टि
हेटौँडा । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयको कार्यसम्पादनप्रति गम्भीर चासो व्यक्त गरेको छ ।
समितिले उजुरी अनुसन्धान र फछ्र्योट प्रक्रियामा ढिलाइ भएको भन्दै कार्यालयलाई एक साताभित्र विस्तृत प्रगति विवरण पेश गर्न निर्देशन दिएको छ ।
शुक्रबार कार्यालयको स्थलगत अनुगमनपछि आयोजित अन्तरक्रिया कार्यक्रममा समितिका सभापति हरि ढकालले अख्तियारको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले २०८१ फागुन ५ गते रौतहटको दुर्गाभगवती गाउँपालिकामा भएको भनिएको अनियमिततासम्बन्धी विषयमा समितिले अनुसन्धानका लागि निर्देशन दिएको स्मरण गराउँदै हालसम्म प्रारम्भिक अनुसन्धानमै सीमित रहेको अवस्थाले प्रश्न उठाएको बताउनुभयो ।
समितिको अनुगमनकै कारण ‘प्रारम्भिक अनुसन्धान’ भन्ने शब्द प्रयोग गरिएको हो कि भन्ने आशंका व्यक्त गर्दै उहाँले वास्तविक अनुसन्धानको अवस्था स्पष्ट पार्न आग्रह गर्नुभयो । सभापति ढकालले कार्यालयलाई हालसम्म दर्ता भएका उजुरी, फछ्र्योट भएका उजुरी तथा अदालतमा दायर गरिएका मुद्दाको विस्तृत विवरण सात दिनभित्र लिखित रूपमा उपलब्ध गराउन निर्देशन दिनुभयो।
साथै आगामी आर्थिक वर्षदेखि सुशासन प्रवद्र्धनका लागि समितिबाट आवश्यक सहजीकरण गर्नुपर्ने विषयहरूको सूचीसमेत पेश गर्न आग्रह गर्नुभयो । उहाँले कार्यालयको बेरुजु अवस्थासम्बन्धी विवरण पनि माग गर्नुभयो ।










