‘योजनाको सूची तयार पार्नुहोस्, हामी साथ दिन्छौँ’: माडीका किसानलाई मन्त्री पौडेलको भरोसा

रबिन ढुङ्गाना
२०८३ बैशाख २५, शुक्रबार १२:४७

माडी। बागमती प्रदेश सरकारको लगानीमा चितवनको माडी नगरपालिका-८, कान्तिपुरमा सञ्चालित सामूहिक खेती तथा चक्लाबन्दी कार्यक्रम प्रभावकारी हुन नसकी अलपत्र अवस्थामा पुगेको छ । प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले बिहीबार उक्त परियोजनाको स्थलगत अनुगमन र निरीक्षण गर्दै स्थानीय किसान तथा सहकारी सञ्चालकहरूसँग समस्या समाधानका उपायबारे छलफल गरेका छन् ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा स्थानीय सूर्योदय कृषि सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा यसलाई महत्त्वपूर्ण नमुना कार्यक्रमका रूपमा सुरु गरेको थियो । १५० बिघा क्षेत्रफलमा सामूहिक खेती र गन्धर्व समुदायको आर्थिक उत्थानका लागि ४६ वटा होमस्टे निर्माण गरिएको यस परियोजनामा सरकारले ठूलो लगानी गरे पनि हाल यो कार्यक्रम ”बेवारिस” अवस्थामा पुगेको हो ।

निरीक्षणका क्रममा स्थानीय किसान र सहकारीका अध्यक्ष युवराज पौडेलले प्राविधिक सहयोगको अभाव र उच्च लागत सहभागिताका कारण कार्यक्रम असफल भएको गुनासो गरे । ‘प्रदेश सरकारले आर्थिक सहयोग गरे पनि प्राविधिक ज्ञानको कमीले सामूहिक अन्नबाली जोगाउन सकेनौं,’ अध्यक्ष पौडेलले भने, ‘माछा पालनका लागि बनाइएका पोखरीमा पानी नअड्ने समस्या देखियो, जसले गर्दा लगानी डुब्यो ।’ भौतिक संरचना निर्माणमा सुरुवातमै सहकारीले बेहोर्नुपर्ने लागतको भार धेरै हुँदा आर्थिक संकट परेको किसानहरूको भनाइ छ ।

पछिल्लो समय यस भेगका किसानहरू ड्रागन फल खेतीतर्फ आकर्षित भएका छन् । तर, एकै समयमा उत्पादन हुने ड्रागन फलको उचित बजार मूल्य नपाउने जोखिम रहेको भन्दै किसानले भण्डारणका लागि ‘कोल्ड चेम्बर’ निर्माण गरिदिन मन्त्री पौडेलसँग माग गरेका छन् ।

किसानका समस्या सुनेपछि मन्त्री पौडेलले स्थानीयको क्षमता र आवश्यकता अनुसारका योजना नहुँदा समस्या देखिएको बताए । उनले भने, ‘सरकारले ल्याएको योजना गलत होइन, तर कार्यान्वयनमा देखिएका जटिलतालाई सम्बोधन गर्न हामी तयार छौं । तपाईंहरू निराश नहुनुहोस्, आवश्यक योजनाको सूची तयार गर्नुहोस् ।’ मन्त्री पौडेलले जिल्ला कृषि कार्यालयलाई तत्काल उक्त क्षेत्रको माटो परीक्षण गरी कुन भूभागमा कुन बाली उपयुक्त हुन्छ भन्ने प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् । माटो परीक्षणको नतिजाका आधारमा सरकारले थप नयाँ योजनाहरू अघि सार्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले गन्धर्व समुदायको उत्थानका लागि राम्रो नियतले सुरु गरिएको नमुना कार्यक्रम विविध कारणले असफल भएको स्वीकार गरे । उनले विगतका कमजोरीबाट सिकेर आगामी दिनमा नयाँ ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*