सुकुम्बासी बस्तीमा बालेनको डोजर आतङ्क: एमालेको कडा आक्रोश

अखबार हब
२०८३ बैशाख १९, शनिबार २०:०२

काठमाडौँ । बागमती प्रदेशको सत्तारुढ दल नेकपा एमाले संसदीय दलले काठमाडौँका सुकुम्बासी बस्तीमा बालेन्द्र शाह नेतृत्वको सरकारले चलाएको डोजर र त्यसपछिको अमानवीय व्यवहारप्रति घोर भत्सर्ना गरेको छ।

संसदीय दलका नेता जगन्नाथ थपलियाले एक विज्ञप्ति जारी गर्दै पर्याप्त सूचना र वैकल्पिक व्यवस्था बिना सुकुम्बासीको घर भत्काउनुलाई पञ्चायतकालीन निरंकुशता भन्दै सरकारको कडा आलोचना गरेका छन्।

सरकारले कतिपय स्थानमा केवल एक घण्टाको मात्र समय दिएर सुकुम्बासीलाई जबरजस्ती आवासविहीन बनाएको एमालेको आरोप छ। विज्ञप्तिमा जनाइए अनुसार विस्थापितहरूलाई राखिएको दशरथ रङ्गशाला लगायतका स्थानमा खान र बस्नको न्यूनतम प्रबन्ध समेत गरिएको छैन। उचित व्यवस्थापनको अभावमा बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलाहरू बिरामी पर्न थालेका छन् भने परिवारमा परेको पीडा सहन नसकी दुई व्यक्तिले आत्महत्या समेत गरिसकेका छन्।

यस विषम परिस्थितिप्रति गम्भीर बन्न आग्रह गर्दै एमालेले भूमिहीन सुकुम्बासीलाई पर्याप्त समय दिएर तत्काल वैकल्पिक आवासको व्यवस्था गर्न जोडदार माग गरेको छ। साथै, बिचल्लीमा परेका बालबालिका, सुत्केरी, वृद्ध र अशक्त व्यक्तिहरूको तत्काल उपचारको प्रबन्ध मिलाउन र नागरिकको आधारभूत अधिकारको सम्मान गर्दै पाशविक व्यवहार रोक्न समेत सरकारलाई सचेत गराइएको छ। राज्यले आफ्ना जनताप्रति देखाएको यस्तो गैरजिम्मेवारपनले थप मानवीय संकट निम्त्याउने एमाले बागमती प्रदेश संसदीय दलको ठहर छ।

यसमा तपाइको मत

Your email address will not be published.


*