हेटौंडामा नक्कली परीक्षार्थी पक्राउ
हेटौंडा । मकवानपुरको हेटौंडामा अर्काको नाममा एसईई परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
हेटौंडा उपमहानगरपालिका–१०, भुटनदेवीस्थित सोलिड्यारेटी मावि परीक्षा केन्द्रबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
बिहान करिब ८:०० बजेको समयमा परीक्षा चलिरहँदा सिन्धुलीको मरिन गाउँपालिका–४ घर भई हाल हेटौंडा–४ मा बस्ने १७/१८ वर्षीय बिराज बिकलाई प्रहरीले पक्राउ गरेको हो। उनी हेटौंडा स्कुल अफ मेनेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन्।
मकवानपुर प्रहरीको अनुसार, बिकले हेटौंडा–१२, पदमपोखरीका १९ वर्षीय अंकिश श्रेष्ठको प्रवेश पत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिन आएका थिए। शंकास्पद गतिविधि देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।
थप अनुसन्धानका क्रममा उनले अंकिश श्रेष्ठको नाममा परीक्षा दिन आएको खुलेको हो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नक्कली परीक्षार्थी बिराज बिक र अंकिश श्रेष्ठ दुवैलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।









