भीमफेदीका किसानसँग बर्तौलाको भेट: बाँदर नियन्त्रण र भूमिहिन समस्या बारे छलफल

अखबार हब
२०८२ माघ २८, मंगलवार ११:३९

हेटौंडा । नेकपा एमालेबाट मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले मंगलबार भीमफेदीका किसानहरूसँग निर्वाचन केन्द्रित भेटघाट तथा छलफल गरेका छन् ।

भीमफेदी-५ सोलाभन्ज्याङ र दमारका दूध तथा तरकारी उत्पादक किसानहरूसँगको संवादका क्रममा स्थानीयले बाँदर र दुम्सीले बालीनाली नष्ट पारेर हैरानी दिएको भन्दै नियन्त्रणका लागि कडा कानुन बनाउन माग गरेका छन् ।

स्थानीय किसान चित्र बहादुर रानाले बाँदरले खेतीपाती नष्ट पारेको दुखेसो पोख्दै सांसद निर्वाचित भएपछि बाँदर मार्न पाउने कानुन निर्माणका लागि पहल गरिदिन बर्तौलासँग आग्रह गरे । त्यस्तै, स्थानीय नारायण सिं भ्लोन र बद्री रेग्मीले दमार खोला तरेर सोलाभन्ज्याङ जाने पुल निर्माण र बाटो ढलानको कामलाई प्राथमिकतामा राख्न माग गरेका छन् ।

​छलफलका क्रममा उम्मेदवार बर्तौलाले किसानको मुख्य समस्याका रूपमा रहेको बाँदर नियन्त्रणका लागि नीतिगत व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले बाँदर नियन्त्रणका लागि मासु निकासी गर्ने, बन्ध्याकरण गर्ने वा समुदायलाई मार्ने अधिकार प्रत्यायोजन गर्ने जस्ता विकल्पहरूमा छलफल भइरहेको बताउँदै यसमा पशु अधिकारकर्मीहरूको अनावश्यक दबाब रहने गरेको उल्लेख गरे । आफू स्थानीय बासिन्दा भएकाले यहाँका समस्यासँग नजिक रहेको बताउँदै बर्तौलाले संसद्‌मा नीति निर्माणसँगै विकास निर्माणमा पनि सक्रिय भूमिका खेल्ने आश्वासन व्यक्त गरेका छन् ।

उनले आज बिहानै भीमफेदी–६ स्थित पारिबजारमा स्थानीय बासिन्दासँग भूमिहीनका समस्या समाधानका विषयमा समेत छलफल गरेका थिए । ​पारिबजारको भेटघाटमा स्थानीय पान कुमारी डिम्डुङले सदियौंदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा सास्ती खेप्नुपरेको बताउँदै एमालेकै नेतृत्वमा रहेको भूमि आयोगबाट यसपटक समस्या समाधान हुने विश्वास व्यक्त गरिन् ।

एमालेका निर्वाचन फोकल पर्सन आशिष अस्लामीका अनुसार भेटघाट कार्यक्रममा एमालेका नेताहरू बलराम बल, भगवती पुडासैनी, पार्वती राना, सानु थापा, सिता लामा र जहार सिं लामा लगायतको उपस्थिति रहेको थियो । निर्वाचन नजिकिँदै गर्दा बर्तौलाले गाउँगाउँमा पुगेर मतदाता भेट्ने र समस्या सुन्ने क्रमलाई तीव्रता दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*