मकवानपुरका २१ उम्मेदवारले लिए बैंक खाता खोल्न सिफारिस
हेटौंडा । मकवानपुरमा २१ जना उम्मेदवारले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैंक खाता खोल्न सिफारिस लिएका छन् ।
बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार शुक्रबारसम्म दुवै निर्वाचन क्षेत्रका ४४ उम्मेदवारमध्ये २१ जनाले मात्रै निर्वाचन प्रयोजनका लागि नयाँ बैंक खाता खोल्न सिफारिस लिएका हुन् ।
निर्वाचन आचारसंहिताअनुसार कुनै पनि उम्मेदवारले निर्वाचनमा हुने खर्च तथा प्राप्त गर्ने सहयोग बैंकिङ प्रणालीबाट मात्रै गर्नु पर्नेछ । २५ हजारभन्दा बढीको सहयोग तथा खर्च बैंकबाटै र त्यसभन्दा कमको नगदै लेनदेन गरे पनि रसिद भने दाखिला गर्नुपर्ने हुन्छ ।
मकवानपुर—१ मा २१ र २ मा २३ जना उम्मेदवार छन् । उम्मेदवारहरुले निर्वाचन प्रयोजनका लागि जुनसुकै बैंकमा पनि छुट्टै खाता खोल्नुपर्ने हुन्छ । त्यसका लागि निर्वाचन कार्यालयले सिफारिस दिने गरेको छ । मकवानपुरको हकमा उम्मेदवारहरुले ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था रहेको छ ।
छुट्टै खाता नखोल्ने र खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई आचारसंहिता उल्लंघन गरेको विषयमा स्पष्टीकरण सोधिने, एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी खारेजीसम्मको कारबाही गर्न सक्ने अधिकार निर्वाचन अधिकृतलाई रहेको छ ।







