उम्मेदवार पर्खिरहेका मकवानपुर धियालका मतदातालाई लालपूर्जाको चिन्ता
हेटौंडा । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकएसँगै सहरबजारदेखि गाउँबस्तीमा चहलपहल बढिरहेको छ।
राजनीतिक दलका नेताकार्यकर्ता तथा स्वतन्त्र उम्मेदवार मतदाता भेटघाटमा व्यस्त छन् । सामाजिक सञ्जालदेखि चिया पसल र बस्तीसम्म कसलाई मत हाल्ने र कस्तो प्रतिनिधि रोज्ने भन्ने विषयमा बहस भइरहेका छन् । तर, मकवानपुर क्षेत्र नम्बर-१ अन्तर्गत बकैया गाउँपालिका-२ का केही बस्तीमा भने चुनावी गतिविधिले छुन सकेको छैन ।
बारासँग जोडिएको साविकको धियाल गाविसमा पर्ने यो क्षेत्रका मतदाता निर्वाचन भइरहेको जानकारीबाहेक बेखबर छन्। स्थानीय बासिन्दा यसपाली आफ्नो क्षेत्रबाट को–को उम्मेदवार छन् भन्ने समेत थाहा पाउन नसकेको बताउँछन् ।
धियाल दोभानका ६५ वर्षीय ईन्द्रबहादुर थिङले समाचारबाट निर्वाचनबारे चुनाव थाहा पाए पनि को–को उम्मेदवार उठेका छन् भन्ने जानकारी हुन नसकेको बताए । ‘पहिले पहिले चुनाव लडेर गएका नेताहरुको नाम त थाहा छ, यसपालि नयाँ को–को छन् भन्ने थाहा हुन सकेको छैन,’ उनले भने, ‘भोट माग्न कोही आएका छैनन् । कसैले केही भनेका पनि छैनन् ।’
थिङ जसले चुनाव जितेर गए पनि आफुले पसिना बगाएको जमिन र घरको लालपुर्जा अहिलेसम्म पाउन नसकेकोमा खिन्न छन् । ‘चुनावको बेलामा लालपुर्जा दिलाउँछु भनेर भोट लिएर जान्छन्, जितेपछि फर्केर पनि आउँदैनन्,’ उनले भने ।
निर्वाचन र दलहरुप्रति यो बस्तीका बासिन्दा उत्साहित छैनन् । धियाल कालापानीका दिपक स्याङतानले आक्रोश पोख्दै भने,‘वर्षायाममा गाउँमा बाढीपहिरो र चट्याङले त्यतिकै सताउँछ, जितेर गएका कुनै पनि नेताले अहिलेसम्म हाम्रो पीडा सुनेनन् ।’
बकैया गाउँपालिकाको दक्षिणी भेगमा पर्ने उक्त बस्तीमा वर्षायाममा चुरेको खहरेले गर्दा पालिकाकै हात्तीसुढे, जुरेली र छतिवन बजारमा आउजाउ गर्न समस्या छ। लालपूर्जाविहीन उक्त बस्तीमा चट्याङको जोखिम पनि उत्तिकै छ। ‘जसलाई जिताए पनि हाम्रो समस्या जस्ताको तस्तै छ,’ थाकल चौरका ५९ वर्षीय पूर्णबहादुर लामाले भने,‘आफु बसेको घर र जग्गाको लालपूर्जा पाउन पनि सकिएन, न बाटाघाटो नै बन्यो ।’
२०२९ सालदेखि थाकलचौरमा बस्दै आएका उनले अहिलेसम्म लालपूर्जा पाउन सकेका छैनन् । बकैया गाउँपालिका(२ मा पर्ने तिन भङगाले, केराघारी, ट्याङट्याङ, सरस्वती, दोभान, कालापानी, थाकलचौरका बासिन्दाले अहिलेसम्म लालपूर्जा पाउन सकेका छैनन् ।
तामाङ समुदायको बसोबास रहेको उक्त वडाका विभिन्न बस्तीमा ४५४ घरधुरी छन्। तीमध्ये ५१ जनासितमात्र घर र जग्गाको लालपूर्जा छ । ४ सय ३ घरधुरीका बासिन्दाको छाप्रो र पसिनाले खनीखोस्री गरेको जमिनको स्वामित्वको पूर्जा उनीहरुसँग छैन । उनीहरुमध्ये कतिपय विसं २०२१ सालदेखि त्यहाँ बसोबास गर्दै आए पनि घरजग्गाको निस्सा अहिलेसम्म छैन । आफ्नै गाउँपालिकाको कार्यालयको रहेको केन्द्रमा पुग्न ५ घन्टा पैदल हिँड्नु पर्छ ।
भौतिकशास्त्रीहरुले लामो अध्ययन पश्चात उक्त क्षेत्रमा युरेनियमको खानी रहेको सार्वजनिक गरेका छन् । युरेनियम खानीको आसपासमा बस्ने र सोही क्षेत्र भएर बग्ने खोलाको पानी प्रयोग गर्नेहरु अधिकांश बासिन्दामा छालाका विभिन्न किसिमका रोग देखा पर्नुको साथै निरन्तर रुपमा टाउको दुख्ने, रिंगटा लाग्ने, ज्वरो आइरहने र झाडावान्ता भइरहने जस्ता समस्या देखापर्ने स्वास्थ्य चौकीका प्रमुख विमल पण्डितले बताए ।
चुरेको फेदीमा रहेको उक्त गाउँ बस्तीमा शनिबारसम्म कुनै पनि उम्मेदवार पुगेका छैनन् । ‘भोट माग्न आउने उम्मेदवारलाई लालपूर्जा र गाउँका अन्य समस्या सामूहिक रुपमा राख्ने छौं,’ दिलबहादुर बाईवाले भने,‘जसले हाम्रो समस्या समाधान गर्छ जस्तो लाग्छ, त्यसैलाई मतदान गर्छौं ।’
मकवानपुर—१ मा १३ दलका १३ जना र स्वतन्त्र १० जना गरी २३ जना उम्मेदवार छन् । तीमध्ये चार जना महिला छन् । उक्त निर्वाचन क्षेत्रमा ४० वटा वडमा ६२ मतदानस्थल र १७८ वटा मतदान केन्द रहेका छन् । १ लाख ५८ हजार ४ सय ३५ मतदातामध्ये ७८ हजार ८ सय १० महिला मतदाता छन् । ईकान्तिपुरबाट साभार ।








