अडान केन्द्रीय पदाधिकारीलाई हेटौंडामा सम्मान
हेटौंडा । नेपाल अडिटर्स एशोसिएसन (अडान)को सातौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारीहरुलाई हेटौंडामा सम्मान गरिएको छ ।
अडान बागमती प्रदेश समितिद्वारा हेटौंडामा एक विशेष कार्यक्रम आयोजना गर्दै नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको हो ।
अडान बागमती प्रदेशका अध्यक्ष रामकुमार बर्तौलाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा अडानका केन्द्रीय अध्यक्ष बद्री प्रसाद भट्टराई प्रमुख अतिथिका रहेको थियो भने, केन्द्रीय वरिष्ठ उपाध्यक्ष डाक्टर डोल प्रसाद दाहाल, केन्द्रीय उपाध्यक्ष राजेन्द्र प्रसाद ढुङ्गाना, केन्द्रीय महासचिव तिलक बहादुर अधिकारी र केन्द्रीय विशेषज्ञ समितिका संयोजक सूर्य प्रसाद अधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले लेखापरीक्षकहरुको पेशागत मर्यादा र हकहित संरक्षणका लागि नयाँ कार्यसमिति प्रतिबद्ध भएर लाग्ने उद्घोष गरे । उनले लेखापरीक्षण क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन देशभरका सदस्यहरूको एकता आवश्यक रहेकोमा जोड दिए ।
बागमती प्रदेश समितिले आयोजना गरेको यस सम्मान कार्यक्रमले नवनिर्वाचित नेतृत्वलाई थप जिम्मेवारी बोध गराएको र काम गर्ने उर्जा प्रदान गरेको सहभागी वक्ताहरूले उल्लेख गरेका छन् ।
प्रदेश समितिले नवनिर्वाचित पदाधिकारीहरूलाई खादा र सम्मानपत्रद्वारा सम्मान गरेको थियो।








