मकवानपुरमा बकैया कला-साहित्य महोत्सव हुँदै, ११ जना स्रष्टा सम्मानित हुने
हेटौंडा । झरना साहित्यिक परिवार मकवानपुरले यसवर्ष पनि बकैया साहित्य महोत्सव गर्ने भएको छ । झरनाको ३२३ औँ साहित्यिक शृङखाला एवम् ३३ औँ वार्षिकोत्सव तथा सातौँ बकैया कला–साहित्य महोत्सव, २०८२ हुने भएको छ भने सोहि अवसरमा ११ जना सष्ट्राहरूलाई सम्मान गर्न लागिएको हो ।
२०७६ सालबाट सुरु गरेको महोत्सवलाई निरन्तरता दिन लागिएको संस्थाका अध्यक्ष गायत्री रुपामखेतीले जानकारी दिइन् । शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै झरनाले महोत्सवमा स्रष्टासँगै विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सम्मान गर्ने जनाएको छ ।
झरनाको ३३ औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०८२ फागुन ५ र ६ गते महेन्द्र मावि बकैया–४ मा हुने अध्यक्ष रुपाखेतीले जानकारी दिइन् । उनका अनुसार महोत्सवमा पुरस्कार समर्पण, चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्यहरु, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई ७ प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचना वाचन र नवसर्जक रचना वाचन कार्यक्रम हुने जनाएको छ ।
झरनाले विगतदेखि नै विभिन्न सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।
सोही क्रमको निरन्तरता स्वरूप यसवर्षको महोत्सवमा पनि साहित्यकार, पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको संस्थाका सचिव नीलहरि ढुङ्गेलले बताए ।
झरना २०५० सालमा साविक छतिवन गाविस (हाल बकैया गाउँपालिका) मा स्थापित भई हालसम्म क्रियाशील मकवानपुरको अग्रणी साहित्यिक संस्था मध्येको एक हो ।
झरना साहित्यिक मकवानपुरले प्रदान गर्ने पुरस्कारहरूः
- साहित्यमा योगदान गरेबापत प्रदान गरिने नगद रू. २१ हजार १ सय २१ राशि सहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८२ बाट पाँचथरका रमेश शुभेच्छुक (यो सम्मान साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गर्नुभएको) (यसअघि भैरहवाका प्रा. डा. कपिल प्रसाद लामिछाने-२०८१,काठमाडौँका डा. गीता त्रिपाठी–२०८०, प्रा.डा. जीवेन्द्रदेव गिरी–२०७९, प्रा.डा.देवी नेपाल–२०७८ प्रा.डा. भीम खतिवडा–२०७७, डा. नवराज लम्साल–२०७६
- मुक्तकमा योगदान गरेवापत प्रदान गरिने नगद रू १५ हजार ५ सय ५५ राशि सहितको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०८२ बाट रुकुम पश्चिमका कर्णबहादुर खत्री । (यो सम्मान साहित्यकार रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापित गर्नुभएको) (पुनश्चः यो पुरस्कार चैतको चौँथो शनिबार हेटौँडामा आयोजना हुने हुने मुक्तक साँझमा प्रदान गरिनेछ ।) (यसअघि इलामका शिव अधिकारी-२०८१, मोरङका बाबुराम पोखरेल–२०८०, रुद्र अधिकारी–२०७९, मुक्तककार वियोगी बुढाथोकी–२०७८, मुक्तकककार ज्ञानुवाकर पौडेल–२०७७, मुक्तककार उषा शेरचन–२०७६)
- जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत प्रदान गरिने नगद रू १५ हजार ५ सय ५५ राशिसहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८२ बाट मकवानपुरका डा. निमेष निखिल (यो सम्मान साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित गर्नुभएको ।) (यसअघि देवराज खरेल-२०८१, साम्ब ढकाल–२०८०, कथाकार नवराज शर्मा–२०७९, साहित्यकार आर सी रिजाल–२०७८, कवि आर.आर. चौलागाईँ–२०७७, व्यङ्ग्यकार रामचन्द्र आचार्य (फुर्सती)–२०७६
- साहित्यिमा योगदान गरेका युवा साहित्यकारलाई प्रदान गर्ने नगद रू. ८ हजार ५ सय राशि सहितको खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८२ बाट नेपालगञ्जकी ऋचा लुइटेल। (यो सम्मान साहित्यसेवीहरू अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापित गर्नुभएको (यसअघि मकवानपुरका बिर्खे अञ्जान-२०८१, स्याङ्जाका मिलन समीर–२०८०, अमला अधिकारी(सिन्धुली)–२०७९, यात्रीप्रकाश पाण्डे (धादिङ)–२०७८, सुमित्रा सुमी (नुवाकोट)–२०७७, विनोदविक्रम केसी (काठमाडौँ)–२०७६)
- मकवानपुरका महिला साहित्यकारलाई नगद रू. ७ हजार ७ सय ७७ राशिसहितको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०८२ बाट मकवानपुरकी संगीता थापा । (यो सम्मान साहित्यसेवी राजन दङ्गालले आफ्नी दिवङ्गत छोरीको स्मृतिमा स्थापना गर्नुभएको ) (यसअघि गजलकार बबी थापा-२०८१, गजलकार बिमला कार्की “सुसं”, कवि अनिता न्यौपाने–२०७९, कवि शान्ति प्रियवन्दना–२०७८, साहित्यकार रुकु कार्की–२०७७, कवि विना थिङ तामाङ–२०७६)
- मकवानपुरको साहित्यसेवी रहेवापत प्रदान गर्ने नगद रु. ७ हजार ७ सय ७७ सहितको सञ्जीवन) बुटी साहित्य सम्मान–२०८२ बाट मकवानपुरका डा. अर्पण पराजुली । (यो सम्मान साहित्यसेवी तुलसी गिरीले स्थापना गर्नुभएको) (यसअघि बाराकी नियात्राकार अप्सरा पुडासैनी-२०८१, साहित्यसेवी भरतप्रसाद सापकोटा–२०८०, कृष्ण प्रसाद चौलागाई–२०७९, साहित्यसेवी बेल प्रसाद दाहाल–२०७८, साहित्यसेवी मनहरी लामिछाने–२०७७, साहित्यसेवी मुक्तिगोविन्द वैद्य–२०७६)
- मकवानपुरमा रही यस संस्थाको प्रचारप्रसार गर्न पत्रकारिताका माध्यमबाट सहयोग गरेवापत पत्रकारलाई प्रदान गरिने नगद रु. ११ हजार १ सय ११ सहितको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८२ बाट मकवानपुरका दीपक अधिकारी । ( यो सम्मान गोकर्ण गौतमको परिवारद्धारा स्थापना गरिएको) (यसअघि मकवानपुरका ज्योति न्यौपाने-२०८१, मकवानपुरका रामकुमार एलन, भानुभक्त आचार्य–२०७९)
- बकैयाका नवप्रतिभाको सम्मान गर्ने हेतुले स्थापित ५ हजार ५ सय ५५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८२ बाट बकैया ३ स्थित बुद्धमावि हात्तीसुढेकी मोनिका नेगी। (यो सम्मान बकैयाका चन्द्रकुमार राईले स्थापना गर्नुभएको) (यसअघि सन्तोष वि.क.-२०८१, गजलकार अजर फुयाँल–२०८०, कवि स्वस्तिका दाहाल–२०७९, गजलकार विजय दोङ–२०७८, दीपशिखा घिमिरे–२०७७)
- बकैयामा रहेका कलाका क्षेत्रमा योगदान गरेवापत प्रदान गर्न स्थापित नगद ७ हजार ७ सय ७७ सहित खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८२ बाट मकवानपुरका सूर्य सन्यासी । (यो सम्मान बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आफ्ना पिताको नाममा स्थापना गर्नुभएको) (यसअघि मुर्तिकार ओमभक्त भण्डारी-२०८१, बाँसुरी बादक विष्णु घतानी–२०८०, ऋषि केवि–२०७९, कलाकार बाबुलाल वाईवा–२०७८)
- छन्द कवितामा उल्लेख्य योगदान गरेवापत नगद रु. ९ हजार नौ राशिसहित ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवि खनाल साहित्य सम्मान–२०८२ बाट भैरहवाकी सिर्जना खनाल (यो सम्मान जर्नादन खनालले आफ्ना मातापिताको नाममा स्थापना गर्नुभएको) (यसअघि ललितपुरका रत्न विरही घिमिरे-२०८१)
- यस वर्षबाट स्थापना भएको लोक गीतसंगीतमा सेवा गरेबापत आफ्ना मातापिताको सम्मानमा झरना साहित्यिक परिवार मकवानपुरका संरक्षक उद्धव सापकोटा तथा भरत सापकोटाद्वारा स्थापित नगद रु. ११,१११/- राशि सहितको ‘कुलकुमारी झलकनाथ लोक साहित्य सम्मान-२०८२’ बाट साहित्यकार एवं लोकगायक बझाङका नन्दकृष्ण जोशी ।








