एमाले नेता पोखरेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

अखबार हब
२०८२ मंसिर ३०, सोमबार २१:४१

हेटौंडा । नेकपा(एमाले) नेता केशव प्रसाद पोखरेलले केन्द्रिय सदस्य(खुला) पदमा उम्मेदवारी दिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी एमालेको एघारौं महाधिवेशनमा पोखरेलले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् ।

लामो समयदेखि राजनीति र सामाजिक कार्यमा सक्रिय रहँदै आएका पोखरेल एक आदर्शवान् र वैचारिक नेता हुन् ।

पोखरेलको राजनीतिक जीवन पार्टीप्रतिको समर्पण र निरन्तरको क्रियाशीलताको उदाहरण हो। उनले पार्टीको निर्देशनलाई शिरोपर गर्दै २०४९ र २०५४ सालमा गाउँ विकास समिति (गा.वि.स.) अध्यक्षको जिम्मेवारी सम्हाल्नका लागि आफ्नो स्थायी सरकारी जागिरबाट राजीनामा दिएका थिए। काठमाडौं जिल्ला कमिटीमा लगातार २० वर्ष सदस्यको जिम्मेवारी सम्हालेका पोखरेलले जिल्ला संगठनलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

पार्टीको नीति निर्माण तहमा पनि उनको सक्रिय सहभागिता रहँदै आएको छ। उनी प्रतिनिधि परिषद् सदस्य हुनुका साथै पार्टीको छैठौं महाधिवेशनदेखि एघारौं महाधिवेशनसम्म निरन्तर महाधिवेशन प्रतिनिधि रहँदै आएका छन्। यसले पार्टीको सांगठनिक तथा वैचारिक धार निर्माणमा उनको लामो र गहिरो भूमिकालाई पुष्टि गर्छ।

पोखरेल २०७९ को निर्वाचनमा काठमाडौं-९ (ख) बाट प्रदेश सांसदमा निर्वाचित भएका थिए र बागमती प्रदेश सरकारमा कृषि तथा पशुपन्छी विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए। उनी अहिले नेकपा (एमाले) बागमती प्रदेश कमिटीको दोस्रो कार्यकाल सदस्य र संसदीय विभाग प्रमुखको जिम्मेवारीमा छन्।

दशकौंको सांगठनिक अनुभव, सफल जनसेवाको इतिहास, र वैचारिक अडानसहित पोखरेलले पहिलो पटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्। उनको उम्मेदवारीले एमालेको केन्द्रीय कमिटीमा स्वच्छ छवि र अनुभवी नेताको उपस्थिति सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

पार्टीको काममा निरन्तर क्रियाशील रहँदै आएका पोखरेललाई महाधिवेशन प्रतिनिधिहरूले विजयी गराउने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*