सभापति देउवालाई भेटेपछि राजीनामा दिन तयार भए मुख्यमन्त्री लामा

अखबार हब
२०८२ श्रावण १७, शुक्रबार १३:१३

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । आज पार्टी सभापति शेरबहादुर देउवालाई भेटेपछि लामा राजीनामा दिन तयार भएका हुन् । सभापति देउवाले पनि उनलाई राजीनामा दिन निर्देशन दिएका थिए ।

लामाले आजै वा भोलि हेटौँडा फर्किएर राजीनामा दिने भएका हुन् ।लामाले राजीनामा दिनुअघि पत्रकार सम्मेलन गर्ने निकटस्थहरूले जानकारी दिएका छन् । बागमतीमा इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने तयारी कांग्रेसको छ । शुक्रबार (आज) आफू निकट सांसदहरूको सल्लाहमा मुख्यमन्त्री लामाले राजीनामा दिने निर्णय गरेको सांसद तीर्थ लामाले जानकारी दिए ।

उनका अनुसार सभापति देउवाले बिहीबार साँझ आफ्नै निवास बोलाएर कांग्रेस बागमती संसदीय दलको नेतामा पराजित लामालाई बहुमतमा सरकार चलाउन पर्ने भन्दै मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए ।पार्टीको शीर्ष तहको निर्देशन मान्नुको विकल्प नभएको भन्दै मुख्यमन्त्री लामाले राजीनामा दिने तयारी गरेको सांसद तीर्थ लामाले बताए ।

हाल मुख्यमन्त्री लामा प्रदेश सांसदहरूसहित काठमाडौँमा छन्। बागमती प्रदेश सभामा ३७ सिट रहेको कांग्रेसको संसदीय दलमा गत शुक्रबार त्यसबेला दल नेता रहेका मुख्यमन्त्री लामाविरुद्ध २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि नयाँ दल नेता चयनका लागि बुधबार भएको चुनावमा लामालाई हराउँदै इन्द्रबहादुर बानियाँ विजयी भए।यसपछि मकवानपुरका बानियाँले नुवाकोटमा लामालाई मुख्यमन्त्री पद छाड्न दबाब दिइरहेका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*