बागमतीमा दलको नेता चुन्न आज मतदान
हेटौंडा । बागमतीमा कांग्रेस संसदीय दलको नेता चुन्न आज मतदान हुँदैछ।
मुख्यमन्त्री बहादुर सिं लामा विरूद्ध कांग्रेसकै २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेपछि बुधबार नयाँ दल नेता चुन्न मतदान हुन लागेको हो।
कांग्रेस संसदीय दलका उपनेता रहेका रामकृष्ण चित्रकारले बिहान १० देखि १२ बजेसम्म उम्मेदवारी दर्ता गर्ने र २ देखि ३ बजेसम्म मतदान हुने तय भएको जानकारी दिए।
मंगलबार हेटौंडामा संसदीय दल नेता तामाङका पक्ष र विपक्षमा मतविभाजन गरिएको थियो।
जसमा मुख्यमन्त्रीसमेत रहेका संसदीय दल नेता तामाङको पक्षमा जम्मा १५ जना सांसद उभिए भने ईन्द्रबहादुर बानियाँका पक्षमा २२ जना सांसद उभिएका छन्।
त्यसपछि मुख्यमन्त्री लामाले संसदीय दल नेताको हैसियत गुमाएका थिए।
बागमतीमा कांग्रेसका ३७ जना सांसद छन्।







