मकवानपुरमा सवारी दुर्घटनामा एक वर्षमै ५० जनाले गुमाए ज्यान

अखबार हब
२०८२ श्रावण ८, बुधबार १२:५६

हेटौँडा । मकवानपुरमा गत आर्थिक वर्ष ०८१/८२ को अवधिमा सवारी दुर्घटना, लागुऔषध कारोबार, अवैध भन्सार छली र अन्य आपराधिक गतिविधि नियन्त्रणमा प्रहरीले उल्लेख्य सफलता हात पारेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा भएका ४०७ सवारी दुर्घटनामा ५० जनाको मृत्यु भएको छ भने १६३ जना गम्भीर घाइते र ८०२ जना सामान्य घाइते भएका छन् ।

प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ९प्रनाउ० श्यामु अर्यालका अनुसार जिल्लाभरका प्रहरी इकाइहरूले ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण, फैसला कार्यान्वयन र लागुऔषध नियन्त्रणलगायतका अभियानअन्तर्गत एक हजार ७५ वटा मुद्दामा ९२८ जना अभियुक्तलाई पक्राउ गरेका छन् ।

लागुऔषधमा कडा निगरानी
लागुऔषधसम्बन्धी १८८ वटा मुद्दामा २८९ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकामध्ये २७६ जना नेपाली र १३ जना विदेशी नागरिक छन् ।

प्रहरीले उक्त अवधिमा ६ हजार चार किलो गाँजा, ५१ किलो ७१० ग्राम चरेश, २६ किलो ८८० ग्राम अफिम, ६२८ बोतल कोरेक्स, ९५ हजार २७१ थान ट्रामाडोल तथा नाइट्राभेटर, दुई हजार ७५७ एम्पुल डाइजेपाम र ४७६ ग्राम खैरो हेरोइन बरामद गरेको छ । साथै, ५५ वटा सवारीसाधन पनि नियन्त्रणमा लिइएको छ ।

यस्तै, मकवानपुर प्रहरीले १२० बिघा ४ कट्ठा क्षेत्रफलमा लगाइएको गाँजा र ३९ बिघा १४ कट्ठा अफिमको खेती नष्ट गरेको छ। उक्त अभियानमा ४२१ जना प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भन्सार छली र अवैध कारोबार नियन्त्रण
प्रहरीको अवैध भन्सार छली नियन्त्रण अभियानअन्तर्गत १६ करोड १७ लाख ७४ हजार रुपैयाँबराबरको अवैध सामान नियन्त्रणमा लिइएको छ । यसमा १२ करोड १७ लाख रुपैयाँबराबरको सुन, करिब साढे तीन लाखबराबरको चाँदी, दुई करोड ५९ लाखबराबरको लत्ताकपडा र खाद्यान्न, १० वटा सवारीसाधन र ६२ लाख ९० हजारबराबरको अवैध मुद्रा समावेश छन् ।

यही अवधिमा मकवानपुर प्रहरीले १८३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट एक करोड २१ लाख ७३ हजार रुपैयाँ जरिवाना असुल गरिएको र ९९ वर्ष ११ महिना २३ दिन कैद सजाय कार्यान्वयन गरिएको प्रहरीको भनाइ छ । सवारी नियम उल्लंघन गर्नेविरुद्ध गरिएको ३० हजार ३४ वटा कारबाहीबाट दुई करोड ४१ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ। नयाँ पत्रिकाबाट साभार

यसमा तपाइको मत

Your email address will not be published.


*