भिमफेदीमा भरुवा बन्दुकको प्रहारबाट बाबु घाइते
हेटौंडा । मकवानपुरमा छोराले प्रहार गरेको भरुवा बन्दुक लागेर बाबु घाइते भएका छन् ।
आज बिहान ८ बजेको समयमा मकवानपुरको भिमफेदी गाउँपालिका–९, अघोरमा घरेलु विवादले हिंसात्मक रूप लिँदा बाबु आफ्नै छोराको भरुवा बन्दुकको प्रहारबाट घाइते भएका छन्।
स्थानीय ५९ वर्षीय कान्छाराम थिङलाई उनका ३५ वर्षीय छोरा ईमान सिंह थिङले भरुवा बन्दुकले हानेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए । घटनास्थलबाट प्रहरीले ईमान सिंहलाई लाइसेन्स नभएको एक नाले भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको डिएसपी अर्यालले जनाए ।
बुबा–छोराबीच कुखुरा आफ्नो आँगनतर्फ पसेको विषयमा विवाद उत्पन्न भई घटनाले उग्र रूप लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। एउटै आगन भए पनि बाबु र छोरा छुट्टाछुट्टै बस्दै आएका थिए।
प्रहारबाट घाइते भएका कान्छाराम थिङको बायाँ खुट्टाको तिख्रा र दायाँ हातमा छर्रा लागेर सामान्य चोट लागेको बताइएको छ। घाइतेको अहिले हेटौंडा अस्पतालमा उपचारका लागि ल्याइँदैछ।
घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक सन्त बहादुर श्रेष्ठको कमाण्डमा टोली खटाइएको मकवानपुर प्रहरीले जनाएको छ ।







