कुलमान बर्खास्तीको विरुद्ध हेटौंडामा टुकी जुलुस, पुत्ला दहन रोक्न खोज्दा इन्स्पेक्टर घाइते
हेटौंडा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको विरोधमा नेकपा (माओवादी) को युवा संगठन वाइसीएल मकवानपुरले हेटौँडामा प्रदर्शन गरेको छ।
मङ्गलबार साँझ आयोजित टुकी बत्ती सहितको जुलुसले नगर परिक्रमा गर्दै सरकारविरुद्ध नाराबाजी गरेको थियो।
विरोध प्रदर्शनका क्रममा आक्रोशित प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका थिए। पुत्ला जलाउने क्रममा सुरक्षाकर्मीले रोक्न खोज्दा प्रदर्शनकारीहरू र प्रहरीले घम्साघम्सी गरेका थिए। सो क्रममा प्रहरी निरीक्षक बिमला कठायत घाइते भएकी छिन्।
झडपका कारण हेटौँडाको ख्वपः गल्लीस्थित तरकारी बजार क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो। सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिन खोजेपनि प्रदर्शनकारीहरू आक्रोशित बनेका थिए।
सरकारले कुलमान घिसिङलाई कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेपछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरूले घिसिङको पुनर्बहालीको माग गर्दै संघर्ष जारी राख्ने चेतावनी दिएका छन्।







