हेटौंडामा खानेपानी धाराको मिटर चोरी गर्ने पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडामा खानेपानी धाराको मिटर चोरी गरेको अभियोगमा एक जना पक्राउ परेको छ ।
हेटौंडा उपमहानगरपालिका -४, भुवनसिंहपथ स्थित यम बहादुर लामिछानेको घरमा जडान गरिएको खानेपानी धाराको मिटर चोरी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार बुधबार राति करिब १:३० बजे धाराको मिटर चोरी भएको मौखिक सूचना प्राप्त भएपछि प्रहरी टोली तत्कालै अनुसन्धानमा खटिएको बताए ।
खोजतलासका क्रममा बिहीवार साँझ करिब ६:३० बजे हेटौंडा-२, वनस्खण्डीमा डेरा गरी बस्ने २१ वर्षीय सुरेश कुमाललाई शंकास्पद अवस्थामा फेला पारिएको थियो। खानतलासी गर्दा कुमालको साथबाट चोरी भएको धाराको मिटर समेत फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका कुमालमाथि चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसै केही समय अघि हेटौंडा २ र ४ नम्बर आसपासमा खानेपानीको धारामा जडान गरिएको मिटर चोरी गरेको आरोपमा दुई जना नाबालकलाई प्रहरीले पक्राउ गरेको थियो ।
अहिले दैनिक १ देखि ३ वटासम्म मिटर चोरी हुने गरेको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी संजाल न्यौपानेले बताए । ‘मिटर भित्रको पितल झिकेर बिक्री गर्नका लागि मिटर चोरी भएको हो ।’ ´एउटा मिटरभित्र भएको पितल ७/८ सय रुपैयाँसम्मा बजारमा बिक्री हुन्छ ।’- उनले भने ।
पुसदेखि हालसम्म सम्म एक सयभन्दा बढी खानेपानीका ग्राहकहरुको मिटर चोरी भइसकेको बोर्डले जनाएको छ ।







