मुसेधापका वनकरियासँग सांसदहरुको अन्तरसंवाद, जग्गा धनी पुर्जा मुख्य समस्या
हेटौंडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ मुसेधापमा रहेको वनकरिया वस्तिमा अन्तरसंवाद कार्यक्रम गरिएको छ । स्थानीय वनकरियाहरुले आफ्ना बर्षौ देखिका समस्याहरु सांसदहरु समक्ष राखेका छन् ।
मकवानपुरगढी सञ्चार प्रालि हेटौंडा–२ को आयोजना, नर्बेजियन दुतावास काठमाडौं तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा वनकरिया समुदायका विविध सवालहरुमा जनप्रतिनिधि र जनताका बीच अन्तरसम्वाद कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, पूर्व मन्त्री तथा बागमती प्रदेशसभाका सदस्य कुमारी मुक्तान, प्रदेशसभाका सदस्यहरु समिता खड्गी, सुना परियार, गिरबहादुर तामाङको कार्यक्रममा बिशेष आतिथ्यता रहेको थियो । पाँचै जना सांसदहरुले वनकरियाका वषौ देखिका आफ्ना भोगाइ, अहिले सम्म परेका समस्याहरु राखेका थिए ।
कार्यक्रममा युएनडिपिका नीति तथा कार्यक्रम समर्थन व्युरो उपसहायक प्रशाशक र उपनिर्देशक डाक्टर फ्रान्सिन पिकअपले वनकरिया समुदायका समस्याहरु सांसदहरु र आफुले बुझेको बताए । कार्यक्रममा सहभागि सांसदहरुले पनि वनकरियाहरुका समस्या बुझ्नु भएकाले अब नीति निर्माण तहमा काम गर्नेमा आफुले विश्वास लिएको बताए ।
लोपोन्मुख जाती वनकारिया समुदायको समस्याका बिषयमा बागमती प्रदेश सभा र प्रदेश सभाको समिति मार्फत समाधान गर्ने प्रतिवद्धता जनाइएको छ । वनकरिया समुदायका विविध सवालहरुमा जनप्रतिनिधि र जनताबीच अन्तरसंवाद कार्यक्रममा सहभागी प्रदेश सांसदहरुले वनकरिया समुदायको न्यायका लागि पहलकदमी चाल्ने प्रतिवद्धथा जनाएका छन ।
निकुञ्ज क्षेत्रको जमिनमा बसोबास गर्दै आएका वनकरिया समुदायलाई जग्गा धनी पुर्जा उपलब्ध गराइदिन गरेका उनीहरुको मागको सम्बोधन गर्दै प्रदेश सभा सांसद तथा प्रदेश समितिका सभापति र सदस्यहरुले उनीहरुको न्यायका लागि सदन र समितिमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठ, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सदस्य कुमारी मोक्तान, सार्वजनिक लेखा समिति सदस्य गिर बहादुर तामाङ, अर्थ तथा विकास समितिका सदस्य सुना परियार र शिक्षा समतिकै समिता खड्कीले वनकरिया समुदायको सवालको जवाफ दिएका थिए ।
कार्यक्रममा उपस्थित भएका प्रायः सांसदहरुले वनकरिया बस्तीमा यो आफ्नो पहिलो कार्यक्रम र उपस्थिती रहेको बताएका थिए । सभापति आनन्द श्रेष्ठले वनकरियाबीचमा आफू पहिलो पटक उपस्थित भएको बताए । वनकरिया समुदायको हक अधिकारको लागि सम्बन्धित क्षेत्रको जनप्रतिनिधि नै सक्रिय हुनुपर्ने बताउदै उनले भने, ‘तर पनि प्रदेश सभाको समितिको तर्फबाट गर्नुपर्ने कामलाई हामीले हेरिहरेका छौं । नजिकबाट नियालिरहेका छौं ।’
यस्तै, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सदस्य तथा प्रदेशको पूर्व मन्त्री कुमारी मोक्तानले यस बस्तीमा यो भन्दा धेरै समस्या रहेको स्मरण गर्नुभयो । यस समुदायमा यो भन्दा पहिला धेरै समस्या थियो, उनले भने, ‘पछिल्लो समय वनकरियालाई विभिन्न सेवा सुविधाहरु उपलब्ध गराएको छ । जग्गा प्राप्तीको लागि पनि निकै प्रयत्न गरिरहेको छ । प्रदेश सरकारले जमिनको बिषयमा बोल्न सक्छ । तर अपनत्व लिन सक्दैन । किनकी यो संघको अधिनमा छ ।’
यता, सार्वजनिक लेखा समिति सदस्य गिर बहादुर तामाङले वनरिया बस्तीको संरक्षण र अधिकारको लागि आफ्नो समितिमा आवाज उठाउने र सदनबाट कानुन बनाउने बताए । अर्थ समितिकी सदस्य सुना परियारले वनरिया समुदायको पीडा सुनेको भन्दा आफ्नै आँखाले देख्दा निकै दुखदायी रहेको बताइन् ।
यसअघि वनकरिया जातीको बिषयमा सदन र समितिमा कहिल्यै अवाज नउठाएको स्वीकार गर्दै उनले भने, ‘यसअघि यसरी बुझ्ने मौका पाइएको थिएन । आजको कार्यक्रमले वनकरियाको दुख बुझ्ने मौका पायौं । अब पक्कै पनि सदनमा कुरा उठाउनेछु ।’
यस्तै, शिक्षा स्वास्थ्य तथा कृषि समिति सदस्य समिता खड्कीले वनकरिया समुदायका हितका लागि यसअघि केही नगरे पनि आगामी दिनमा यस समुदायको अधिकारको लागि सधैं आवाज उठाउने बताए ।
कार्यक्रममा कसले के भने ?
सन्तोषी वनकरिया
कार्यक्रममा वनकरिया समुदायको लिडर सन्तोषी वनकरियाले वनकरिया जाति भूमी पुजक भएर पनि किन जग्गाधनी लालपुर्जा पाएनौं रु भनेर प्रश्न गर्नुभयो । २०६२ सालमा २० बर्षको लागि दिइएको कागजको समय २०८२ बैशाखमा सकिदै छ । त्यसपछि हामी कहाँ जाने ?
मैले साबुन उत्पादन गर्ने सीप सिकेको थिएँ । जानेको सीपको प्रयोग गरेर व्यवसायी बनौं न त भन्दा लालपुर्जा नभएर प्यान दर्ता गर्न पाइनँ । व्यवसाय दर्ता गर्न नपाएपछि काम नै तीन महिना रोकियो । वडाध्यक्ष दाईले आफ्नो जग्गा राखेर उद्योग दर्ता गर्ने वातावरण बनाइदिनुभयो । सधैं हामी यसरी नै कतिञ्जेल चल्ने ?
संगिता वनकरिया
यस्तै, स्थानीय संगिता वनकरियाले आफ्नो समुदायको लागि भत्ता होइन, रोजगारी चाहिएको बताउनुभयो । लालपुर्जा र रोजगारी भए सरकारले दिएको भत्ता बन्दा बढी हुने उहाँले बताउनुभयो । सरकारले वनकरियाका बालबालिकालाई १ देखि १० कक्षासम्म निशुल्क पठाइदिएको छ भन्छन् । तर हाम्रो बालबालिकाको महिनैपिच्छे हामीले फि बुझाइरहेका छौं । यसको लागि हामीले कस्लाई भन्नुपर्ने हो ? जग्गा छैन । भएको अलिकति जग्गामा पनि उत्पादन हुँदैन । महिनाको ४ हजार रुपैंया भत्ता आउँछ । त्यो पनि तीन/तीन महिनाको दरमा । त्यो बेलासम्म उपचार गर्न, खान र बालबच्चा पढाउन लाखौं खर्च भैसक्छ । यसको जिम्मेवारी कसले लिइदिन्छ ?
राम वनकरिया
यस्तै स्थानीय राम वनकरियाले आफूहरु बसोबास गर्ने स्थानमा बाटोको पनि असुविधा रहेको बताए । बाटो पनि छैन । बर्खामा खोलाको बाटो हिड्नै सकिदैनँ ।
बालबालिकाहरुलाई विद्यालय पुग्न मुस्किल छ । भएको कच्चीबाटोमा बर्षभरी गाडि चल्ने व्यवस्था मिलाइदिन पर्यो । स्थानीय सरकार र प्रदेश सरकारले हाम्रो समस्यामा पनि ध्यान दिनुपर्यो ।
विष्णु बहादुर प्रजा
अर्का स्थानीय बिष्णु बहादु प्रजाले विद्यालय टाढा रहेको कारण वनकरिया बालबालिकाहरुको पढाइ छुट्ने गरेको दुखेसो गर्नुभयो । ७४ सालको बाढीले बस्ती बगाएपछि यो बस्तीमा आएर बसिरहेका छौं । यहाँबाट सबै बालबालिकाहरु पढ्न अहिले पनि उतै जानुपर्ने बाध्यता छ । विद्यालयको व्यवस्था यतै गरिदिन पहल गरिदिनुहुन अनुरोध गर्दछु ।
उनले थपे , निकुञ्जका कारण बस्न पनि निकै समस्या भैरहेको छ । आर्मीहरु घर घेर्न आउँछन् । यो समस्याबाट हामीले कहिले मुक्ति पाउने ?
कुमार वनकरिया
यस्तै कुमार वनकरियाले एसएलसी पास भएका भाईबहिनीको रोजगारीको ग्यारेण्टी सरकारले नलिएको प्रति गुनासो गर्नुभयो । एसएलसी पास भएका मेरा भाइबहिनीहरु अहिले ट्याक्टरमा लोड अनलोड गर्ने, कुचो लगाउने काम गरिरहेका छन् । बनकरियालाई एसएलसी पास गर्नुस् जागिर लगाइदिन्छु भन्नुहुन्थ्यो । खै त हाम्रा लागि जागिर ? खै हाम्रो लागि अवसर ?








