हेटौंडा १२ मा वडाध्यक्ष पदका लागि मतदान जारी
हेटौंडा । स्थानीय तह अन्तर्गत हेटौंडा उपमहानगरपालिका १२ मा वडा अध्यक्ष पदको लागि मतदान जारी रहेको छ । मतदान स्थल वरपर नेपाली सेनाको गस्ती, सशस्त्र प्रहरी र जनपथ प्रहरीको सुरक्षाका बिचमा बिहान ७ बजेबाट मतदान भइरहेको छ ।
गत २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा विजयी ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बन्न गएपछि रिक्त वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।
भोर्ले स्थित विष्णु आधारभूत विद्यालय मतदान केन्द्र र सिग्रेनी स्थित प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्र रहेका छन्। भोर्लेमा ३६२५ र सिग्रेनीमा ४४२८ मतदाता रहेको र दुवै मतदान केन्द्रमा क्रमशः ४ र ५ गरी जम्मा ९ केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदान कार्य ५ बजेसम्मलाई तोकिएको छ ।
वडामा कुल ८ हजार ५३ मतदाता रहेका छन् । २०७९ को स्थानीय तहको निर्वाचनको तुलनामा उपनिर्वाचनमा १ हजार ५८८ मतदाता थपिएका छन् ।
चुनावी मैदानमा को–को छन् ?
गत २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा विजयी ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बन्न गएपछि रिक्त वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।
५ सदस्यीय वडामा माओवादी केन्द्रबाट घलानले वडा अध्यक्ष जित्दा ४ जना सदस्य नेकपा एमालेबाट विजयी भएका थिए ।
उपनिर्वाचनका लागि वटा राजनीतिक दलबाट ९ जना र ३ जना स्वतन्त्र उम्मेदवार मैदानमा छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट राजेश नगरकोटी, नेपाली कांग्रेसबाट अर्जुन तिवारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का रविन प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रेमबहादुर भ्लोन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आशावीर बल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट बलराम बल उम्मेदवार छन् ।
छत्रप्रकाश अधिकारी, गीताकुमारी नेवार र अर्जुन घलान स्वतन्त्र उम्मेदवार छन् । गत निर्वाचनमा पनि उम्मेदवार रहेका कांग्रेसका तिवारी र एमालेका नगरकोटी यस पटक पनि चुनावी मैदानमा छन् ।
तेस्रो पटक चुनाव उठेका तिवारीले घलानसँगै ०७४ र ०७९ को निर्वाचनमा पराजय भोगे । नगरकोटी गत निर्वाचनमा तेस्रो भएका थिए ।
गत निर्वाचनमा घलानले एक हजार ३७१ मत ल्याएर विजयी भएका थिए । तिवारीले एक हजार ३४० मत ल्याउँदा एमालेका नगरकोटीले एक हजार ३२५ मत पाएका थिए । उपनिर्वाचनबाट माओवादी केन्द्रलाई गुमेको वडा फर्काउने चुनौती छ भने एमाले र कांग्रेसलाई पनि यो वडा प्रतिष्ठाको विषय बनेको छ ।







